नेपाल मारवाडी क्रिकेट लिग–२ को तयारी पुरा

आनन्द पोखरेल
नारायणगढ, ११ चैत
चैत १३ गतेदेखि नारायणगढको क्याम्पाचौरमा हुन गइरहेको नेपाल मारवाडी क्रिकेट लिग–२ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । लिग चरणमा खेलाइने प्रतियोगिताको छनौट चरणको खेललाई दुई क्षेत्रमा छुट्याएर गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पूर्व क्षेत्र र पश्चिम क्षेत्र गरि दुई क्षेत्रमा खेलाइने खेलबाट विजयी हुने दुई वटा टिमले बिराटनगरमा फाइनल खेल्ने नेपाल राष्ट्रिय मारवाडी यूवा संगठनका केन्द्रीय अध्यक्ष कञ्चनकुमार अग्रवालले जानकारी दिए । देशभरीका विभिन्न १२ वटा मारवाडी युवा संघहरुले प्रतियोगितामा सहभागिता जनाएका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा जनकपुर, हेटौंडा, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका टिमले नारायणगढमा सेमी फाइनलसम्मको खेल खेल्ने र बिराटनगरका तीन वटा टिम, झापा, राजविराज र इटहरीको टीमले बिराटनगरमा सेमी फाइनल खेल्दै फाइनल पनि बिराटनगरमा खेल्ने बताइएको छ ।

Cricketपत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै केन्द्रीय अध्यक्ष अग्रवालले आगामी दिनमा प्रतियोगितालाई व्यवसायिक रुपमा अगाडि बढाउँदै खुल्ला क्रिकेट लिगको रुपमा अगाडि बढाउने योजना रहेको बताए । यस प्रतियोगिताले मारवाडी यूवाहरु व्यवसायमा मात्र सिमित नभइ खेलकुद लगायत विभिन्न अतिरिक्त क्रियाकलापमा समेत संलग्न छन् भन्ने प्रट्याउन मद्दत गर्ने अग्रवालले बताए ।

प्रतियोगिताको पहिलो हुने समूहले ७५ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने तथा दोस्रोले ३१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बताइएको छ । पत्रकार सम्मेलनमा पश्चिम क्षेत्रका कार्यक्रम संयोजक नितेश महिश्वरीले खेलाडीहरुलाई नारायणगढमा खाने र बस्ने सम्पूर्ण व्यवस्था गरिएको बताए । पश्चिम क्षेत्रको उद्घाटन खेल धनगढीको युवा मञ्च र नेपालगञ्जको युवा मञ्चका बिचमा हुने महेश्वरीले जानकारी दिए ।

केन्द्रीय अध्यक्ष कञ्चन कुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा सन्दिप कुमार अग्रवालले स्वागत मन्तव्य राखेका थिए ।