क्षयरोग परीक्षणमा ‘जिन एक्स्पर्ट’ मेसिन प्रभावकारी, के हो जिन एक्सपर्ट मेसिन ?

 
चितवन, ११ चैत ।गम्भीर प्रकृतिका र संवेदनशील बिरामीको क्षयरोग परीक्षणमा ‘जिन एक्स्पर्ट’ मेसिन प्रभावकारी भएको छ ।tb
विशेष प्रकारका बिरामीको खकार परीक्षणका लागि प्रयोग गरिएको यो मेसिन प्रभावकारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कुष्ट तथा क्षयरोग अधिकृत जयराम दवाडीले जानकारी दिए ।

सरकारले नेपालका विभिन्न ३० स्थानमा उक्त मेसिन स्थापना गरेको छ ।

निश्चित मापदण्डभित्र परेका बिरामीका खकार उक्त मेसिनमार्फत परीक्षण हुने गर्दछ । एचआइभी सङ्क्रमित बिरामी, जतिपटक परीक्षण गर्दा पनि नेगेटिभ रिजल्ट आएको तर उसको शारीरिक अवस्थामा रोग देखिएको, क्षयरोग लागेका व्यक्तिको परिवारका सदस्यलाई उक्त मेसिनबाट परीक्षण गर्ने गरिएको दवाडीले जानकारी दिए ।
‘यसले कुनै त्रुटि देखाउँदैन र मान्छेको आँखाले हेरेर गर्ने परीक्षण जस्तो झन्झट पनि हुँदैन त्यसैले यो प्रविधि केही महँगो भए पनि प्रभावकारी छ’, दवाडीले भने ।
जिन एक्स्पर्ट मेसिनमा खकार राखेपछि उसले नै आफैँ परीक्षण गरेर कम्प्युटरमा नतिजा दिन्छ ।
अर्को पुरानो पद्धति भने खकारलाई कीटमा राखेर माइक्रोस्कोपको सहायतामा हेरेर रोग पत्ता लगाइने हो । यसरी गर्दा दुईपटकसम्म परीक्षण गर्नुपर्ने र त्रुटिको सम्भावना पनि हुने कार्यालयले जनाएको छ ।
जिन एक्स्पर्ट मेसिनमार्फत गएको एक वर्षमा चितवनमा ३३२ जनाको खकार परीक्षण भएको थियो । उनीहरुमध्ये ९७ जनामा क्षयरोग लागेको पुष्टि भएको कार्यालयले जनाएको छ । तीमध्ये ३५ महिला र ६२ जना पुरुष छन् ।
चितवनमा अघिल्लो एक वर्षमा एक हजार चारजना क्षयरोगी पत्ता लागेको छ । यो आवको पछिल्लो आठ महिनामा ९०० क्षयरोगी फेला परेको दवाडीले जानकारी दिए ।
नियमित औषधि खाए निको हुने दर करिब शतप्रतिशत नै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका प्रमुख मधुसूदन कोइरालाले बताए । आज परेको विश्व क्षयरोग दिवसका अवसरमा चितवनमा बुधबारदेखि नै विभिन्न जनचेतनामूलक कार्यक्रम सुरु भएको छ ।
आज बिरामीलाई फलफूल वितरण र चेतनामूलक कार्यक्रम तथा ठाउँठाउँमा पर्चा वितरणको गरिएको छ । क्षयरोगको उपचार निःशुल्क हुन्छ । रासस

Leave a Reply

Your email address will not be published.