ग्यासको बिक्रीको विवरण प्रशासनमा बुझाउनुपर्ने

भरतपुर, ०९ चैत । चितवनका प्रत्येक ग्यास उद्योगले ग्यास वितरकलाई पठाएको ग्यासको दैनिक विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्ने भएको छ ।
खाना पकाउने ग्यासको सहज आपूर्ति र वितरण व्यवस्थापन गर्नको लागि प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको अध्यक्षतामा बैठक बसेको थियो । एउटा कम्पनीको सिलिण्डरसँग अर्को कम्पनीको सिलिण्डर साट्न नपाउने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी, ग्याउ उद्योगीहरुले सिधै उपभोक्तालाई ग्यास बिक्री वितरण गर्न नपाउनेमा सहमती जनाइएको छ । कुनै ग्यास उद्योगीले उपभोक्तालाई ग्यास बिक्री वितरण गरेको पाइएमा प्रहरीले कारबाही गर्ने समेत आइतबार निर्णय भएको प्रमुख जिल्ला अधिकारी सिंहले बताएका छन् । उद्योगी, र विक्रेताले ग्यासको तोकिएको मूल्य भन्दा बढी पैसा लिएमा कारबाही गर्ने सहमति भएको समेत जनाइएको छ । ग्यासको उपभोक्ता मूल्य एक हजार तीन सय ८० रुपैयाँ तोकिएको नारायणी ग्यास उद्योगका सञ्चालक राजेन्द्र बुर्लाकोटीले बताए ।
त्यस्तै, ग्यासको आपूर्तिलाई ध्यान दिँदै सहज आपूर्ति गराउनको लागि प्रशासनले नियमित अनुगमन गर्ने र कतै गलत भेटिएमा तत्काल कारबाही गरिने समेत जनाइएको छ । वितरकहरुले समेत सोझै उपभोक्तालाई ग्यास विक्री वितरण गर्न नपाउने सहमति भएको ग्यास विक्रेता संघ चितवनका निवर्तमान अध्यक्ष विष्णु पौडेलले बताए । उद्योगीहरुले ठूला ठूला होटलमा सोझै ग्यास बिक्री गर्ने गरेको बताउँदै अध्यक्षले त्यस्तो कार्य तुरुन्त रोक्नुपर्ने बताए ।
आइतबारको छलफलमा ग्यास उद्योगी, ग्यास विक्रेता, ग्यास वितरक, पत्रकार, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त बहादुर कुँवर लगायतले ग्यास सहज पार्नको लागि सबैको पहल आवश्यक रहेको औंल्याएका थिए ।