संविधानमा भएका विषयवस्तुलाई कानुन बनाएर लागू गर्नुपर्ने

भरतपुर, ६ चैत । संविधानमा महिलाको अधिकार सम्बन्धी सम्बन्धी जानकारी दिने उद्देश्यले शनिबार भरतपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा चितवन जिल्ला न्यायधीश टेकनारायण कुँवरले संविधानमा महिलाका विषयमा भएका अन्तरवस्तुको बारेमा जानकारी दिएका छन् । सामाजिक परिचालक, चितवनका गाविस सचिवहरु तथा केही नगरपाकिलाका संयुक्त वडा कार्यालयका प्रमुखहरु सहभागी रहेको कार्यक्रममा जिल्ला न्यायाधीश कुँवरले नेपालमा जारी भएको नयाँ संविधानले महिलाको विषयमा धेरै अधिकारहरु प्रदान गरेको बताए ।
मुलुकमा बढेको विकासको गतिसँगै समाजमा पनि विकृति बढ्दै गएको कुँवरको भनाइ थियो । कुनै पनि नेपाली किशोरले नागरिकता नपाएको अवस्थामा सर्वोच्च अदातलमा उजुरी गरेमा नागरिकता पाउने प्रावधान नयाँ संविधानमा जारी भएको कुँवरले उल्लेख गरे । विश्वमा रहेका संविधानहरुमध्ये नेपालको संविधानले महिलालाई धेरै अवसरहरु प्रधान गरेको कुँवरको भनाइ थियो । संविधानमा महिलाका हक अधिकारका विषयमा धेरै कुराहरु समेटिएका कारण चाँडो कानुन निर्माण गरि कार्यान्वयन गर्नुपर्नेमा कुँवरले जोड दिए । बालिका बलात्कार, जबरजस्ती करणीका विषयमा संविधानले पीडितको पक्षमा वकालत गरेको कुँवरले बताए ।
चितवनका स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास शाखाका रामहरि न्यौपाने र योजना शाखाका प्रकाशमणि पौडेलले मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला विकास समिति चितवन, केयर नेपाल र कालिका सामुदायिक महिला विकास केन्द्र माडीको संयुक्त आयोजनामा भएको थियो ।