चितवनमा गोही बढ्ने अनुमान

कोमलचन्द्र भगत
चितवन, ६ चैत । यस वर्ष चितवन र आसापसका क्षेत्रमा गोहीको संख्या बढ्ने अनुमान गरिएको छ । गैंडाकोटमा रहेको भृकुटी कागज कारखाना बन्द भएपछि नारायणी नदीमा प्रदुषण घटेको कारण पनि गोही बढ्ने अनुमान गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् घडियाल संरक्षण केन्द्रका प्रमुख बेदबहादुर खड्काले यस पटक गोहीको संख्या बढ्ने संकेत देखिउको बताए । प्रशस्त खानपान र नदीमा प्रदुषण घटेका कारण गोहीको संख्या बढ्ने खड्काले बताए । चितवनमा शुक्रबारदेखि गोही गणना थालिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज भित्रका तालतलैया, नारायणी नदी र राप्ती नदीमा गोहीको गणना थालिएको हो । चार वटा टोली परिचालन गरि तीन चरणमा गोहीको गणना थालिएको हो । गोही गणना गर्ने समय भने उपयुक्त नभएको खड्काले बताए । गर्मी सुरु भएकोले गोहीको एकीन तथ्यांक पत्ता लगाउन नसकिने खड्काले बताए ।
जाडो समयमा गोही गणना गर्न सकेको भए त्यति बेला घाम ताप्नको लागि गोही पानी बाहिर निस्कने भएकाले तथ्यांक एकीन आउने खड्का बताउँछन् । यस वर्षको गोही गणना बिहानको समयमा मात्र गरिने समेत खड्काले बताए । बिहानी पख गोही नदी र तालको किनारमा देखिने छन् । टोलीसँग गणना गर्ने प्रविधि छैन ।
गोही नदी बाहिर निस्कने समय मिलाएर गणना गर्नुको विकल्प नभएको खड्काले बताए । खड्काका अनुसार गणनामा निकुन्जका कर्मचारी, प्राविधिक लगाएतको टोली खटिएका छन् ।
अहिलेसम्म चितवनमा मगर गोहीको सङ्ख्या दुई सय ४५ वटा भएको अनुमान गरिएको छ । त्यस्तै, घडियालको सङ्ख्या सन् २०१५ सम्म एक हजार ५६ अनुमान गरिएपनि २०१६ मा थप ५५ वटा गोही नदीमा छाडिएको छ । यो नदीमा छाडिएको सङ्ख्या अनुसारको तथ्यांक हो । २०१३ मा वर्दिया निकुन्जको कर्णाली, चितवन र कोसीटप्पुमा एक सय २४ गोहि गणना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.