पहाडी जिल्लामा पाठ्य पुस्तक पठाउन सुरु

आनन्द पोखरेल
चितवन, ५ चैत
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय चितवनले आगामी शैक्षिक सत्रका लागि पहाडी जिल्लाहरुमा पाठ्यपुस्तक पठाउन सुरु गरेको छ ।
केन्द्रले अस्थायी डिपो मार्फत कर्णाली अञ्चलका सबै जिल्लाहरु र मनाङ र मुस्ताङमा पाठ्य पुस्तक पठाउन सुरु गरेको हो । जनक शिक्षा सामग्रीले विद्यालय स्तरका पाठ्य सामग्रीहरु छापेर पठाउने गरेको छ । शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिना अगाडि पहाडी जिल्लाहरुमा पाठ्य पुस्तक नपठाएमा समयमा नपुग्ने कारणले चैतको सुरुदेखि नै पठाइएको कार्यालयका निमित्त प्रमुख केदारराज विष्टले जानकारी दिए ।
कार्यालयले पहाडी जिल्ला बाहेक तराईमा भने चैतको तेस्रो हप्तादेखि पाठ्यपुस्तक पठाउने तयारी गरेको विष्टको भनाइ छ । शैक्षिक सत्र २०७२ को प्रवेशिका एसएलसी परीक्षा सकिएपछि मात्र चितवन सहित तराईको ११ जिल्लामा जनक शिक्षा सामग्री केन्द्रको चितवनमा रहेको क्षेत्रीय कार्यालयबाट पाठ्य पुस्तक पठाइने बिष्टले जनाए । कार्यालय चितवनले पूर्वका बारा, पर्सा, रौतहट, मकवानपुमा पाठ्य पुस्तक बिक्री वितरण गर्दै आएको छ ।
त्यस्तै, पश्चिम तर्फ नवलपरासी, अर्घाखांची, पाल्पा, गुल्मी, रुपन्देही र कपिलवस्तु जिल्लाको लागि पुस्तक बिक्री वितरण गर्ने गरेको छ । शैक्षिक सत्र २०७३ को लागि ११ करोड रुपैयाँ भन्दा बढीको पुस्तक बिक्री गर्ने कार्यालयले अनुमान गरेको छ । कार्यालयका निमित्त क्षेत्रीय प्रमुख विष्टका अनुसार कार्यालयले यस शैक्षिक सत्रमा ११ करोड ५९ लाख ५८ हजार एक सय ६९ रुपैयाँ १५ पैसाको पुस्तक वितरण गरेको थियो ।
शैक्षिकसत्र २०७१ सालमा भने क्षेत्रीय कार्यालय चितवन बाट ११ करोड ३८ लाख २५ हजार २ सय ४७ रुपैयाँ ३० पैसाको पुस्तक बिक्री भएको थियो । क्षेत्रीय कार्यालय चितवनले स्थानीय विक्रेता नियुक्ति गरेर पुस्तक विक्रि वितरण गर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published.