अझैपनि १५ प्रतिशत घर परिवारले असुरक्षित पानी पिउछन्

 

आनन्द पोखरेल

चितवन, ०५ चैत । चितवन जिल्लाको कुल घरपरिवार मध्ये १५ प्रतिशत घर परिवारले अझैपनि असुरक्षित पानी पिउने गरेका छन् । तथ्यांक कार्यालय चितवनले दिएको तथ्यांक अनुसार चितवनका २० हजार आठ सय ६७ घरधुरीले असुरक्षित पानी पिउने गरेका छन् ।

जसमध्ये १० हजार पाँच सय २८ घर परिवारले कुवाको पानी पिउने गरेका छन् । खुला पोखरी र तालको पानी पिउने सात हजार दुई सय ७७ घर परिवार रहेको जिल्ला तथ्यांक कार्यालय चितवनले जनाएको छ ।

त्यसैगरी, छ सय ३९ घरधुरीले वर्षायाममा संकलन भएको पानी पिउने गरेको र चार सय ९१ परिवारले खोला–नाला/नदीको पानी पिउने गरेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । एक हजार चार सय १४ घरधुरीले अन्य स्रोतको पानी पिउने गरेका र पाँच सय १८ घरधुरीले पिउने गरेको पानीको स्रोत नखुलेको कार्यालय प्रमुख तथ्यांक अधिकृत जीवनाथ आचार्यले जानकारी दिए ।

ट्युबेल, हातेपम्प, तथा बोरिङको पानीलाई शुद्ध पानीको रुपमा लिन सकिने भएपनि अन्य पानीलाई असुरक्षित पानीको रुपमा लिइने गरेको आचार्यले बताए । सबैभन्दा सुरक्षित पानीको रुपमा बोरिङको पानी रहने भएपनि घरमा गाडिने हातेपम्म र ट्युबेलको पानी पनि सुरक्षित रहेको आचार्यको भनाइ छ ।

चितवनमा खानेपानी व्यवस्थापन बोर्ड तथा विभिन्न उपभोक्ता समितिबाट वितरण गरिएको बोरिङको पानी ४६ हजार दुई सय ८९ घरधुरीले पिउने गरेको आचार्यले जानकारी दिए ।

त्यसैगरी, हातेपम्प तथा ट्युवेलको पानी पिउने ६५ हजार एक सय ८९ घरधुरी रहेको आचार्यको भनाइ छ । चितवनको सहरी क्षेत्रमा बसोबास गर्ने १९ हजार पाँच सय ४६ घरधुरीले अझै पनि असुरक्षित पानी पिउने गरेको तथ्यांक कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

जुन ठाउँको घरधुरी संख्या एक लाख २३ हजार आठ सय २५ रहेको छ । त्यस्तै, आठ हजार पाँच सय २० घरधुरी रहेको ग्रामिण क्षेत्रका एक हजार तीन सय २१ घरधुरीले असुरक्षित पानी पिउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.