अधिकांश छोडपत्रको एउटै कारण- र कसरी समाधान गर्ने?

एजेन्सी । ‘डा. जोन गटम्यान’ विश्वकै पहिलो विवाहविशेषज्ञ र ‘द सेभेन प्रिन्सिपल्स फर मेकिङ्ग म्यारिज वर्क’ (The Seven Principles for Making Marriage Work) का लेखक हुन्। उनले ४ दशकसम्म श्रीमान र श्रीमतीका बीचमा किन मनमुटाव आउँछ अनि सुमधुर सम्बन्ध कसरी छोडपत्रमा गएर अन्त्य हुन्छ भनेर अनुसन्धान गरेका थिए।

रोचक कुरा के छ भन्दाः त्यति लामो समयसम्मको गहिरो अनुसन्धानबाट डा. गटम्यानले अधिकांश बिछडिएका जोडिहरूमा एउटा साझा कारक तत्व पत्ता लगाए। त्यो कारक तत्व हो,

“घृणा”

हो! त्यहि घृणा, जसले अन्धो बनाइदिन्छ, घिन लगाइदिन्छ अनि नराम्रो सोँच्न बाध्य बनाइदिन्छ।

अधिकांश प्रेमी/प्रेमिका, श्रीमान/श्रीमतीमा यस्तो महशुस हुनु स्वाभाविक हो- तर तपाईँले अहिले यस्तो महशुस गर्नुभयो भन्दै तपाईँको बिच्छेद नै हुन्छ भन्ने पनि छैन। डा. गटम्यानले उनको पुस्तकमा हरेक प्रेमजोडिले थाहा पाइराख्नुपर्ने कुरा उल्लेख गरेका छन् भने जुनकुनै सम्बन्धमा पनि ‘घृणा’ले कसरी असर गर्छ भनेर पनि व्याख्या गरेका छन्।

घृणा कसरी पैदा हुन्छ?

आफ्नो साथीको हरेक कुरामा सहमत हुनुपर्छ भन्ने पनि छैन। कहिलेकाहिँ साथीकै कुराले पनि रिस उठाउने गर्दछ, तर यो त साधारण कुरा हो। यसैको कारणले घृणा वा अवहेलनाको तहमा पुग्नु भनेको अब त्यो अस्वस्थ हुन जान्छ।

थाहा छ?- “श्रीमान-श्रीमतीको झगडा परालको आगो!” हरेक प्रेमजोडिको झगडा हुन्छ, ठाकठुक पर्छ। तर महत्वपूर्ण कुरा के हो भन्दा तपाईँले त्यस झगडालाई कसरी ह्याण्डल गर्नुहुन्छ? मायाले वा घृणाले? तपाईँको सम्बन्धलाई जोड्न चाहनुहुन्छ कि फोड्न?

“बहसलाई सही ढङ्गले ह्याण्डल गर्न नसक्ने जोडिहरूको सम्बन्धमा चिसोपना आउने सम्भावना बढि हुन्छ।”, डा. गटम्यान लेख्छन्- “छोडपत्रको बाटोतर्फ लम्किएका जोडिहरूको संवादमा यी ४ कुराहरू समेटिएका हुन्छन्ः आलोचना, अवहेलना, बेवास्ता र झूट।”husdband-and-wife-fight

आफ्नो साथीको नराम्रो पक्षलाई मात्रै बहसमा सामेल गर्नु ‘आलोचना’ हो। ‘अवहेलना’ तब हुन्छ, जब आफ्नो साथीको राम्रो कुरालाई पनि नराम्रो लाग्न थाल्छ। उसले बोलेको कुरालाई कुनै मतलब नगरी त्यसलाई प्राथमिकता नदिनु ‘बेवास्ता’ हो। अनि सबैभन्दा खतरनाक, सम्बन्ध बिच्छेदक तत्व भनेको ‘झूट’ हो।

जब एक-आपसको संवादमा यी ४ कुराहरू मिस्सिन्छन्, तब दुवैजनाको मुटुको धड्कन तेज हुँदै जान्छ, मांशपेसी कडा हुँदै जान्छ, शरीर तात्तिन थाली पसिना छुट्न थाल्छ र भित्र पेटमा कता-कता पोलेको जस्तो भान हुन्छ।

डा. गटम्यान भन्छन्- “हो, यहि क्षण नै घृणाको सुरुवात बन्न जान्छ।”

यस्तो अवस्थामा दुवैजनाले पनि सही ढङ्गले सोँच्न सकिरहेका हुँदैनन्। आफ्नो रचनात्मकता अनि हाँस्यव्यङ्ग्य गर्ने कलालाई बिर्सिदिन्छन्, जसले आक्रोष अनि घृणाको रूप लिन थाल्दछ।

तर… आक्रोष नै सम्बन्धको अन्त्य भने होइन

तपाईँ र तपाईँको साथीको बीचमा हालै यस्तो चर्काचर्की भएको छ भने पनि चिन्ता नलिनुहोस्। “सम्बन्ध तातोले भन्दा चिसोले मर्छ”, गटम्यान भन्छन्।

कतिपय जोडिहरू विवादबाट पन्छिन खोज्छन्। सम्बन्धमा चिसोपना ल्याउने मूल कारणलाई केलाउन डराउँछन् अनि हार मान्छन्। उनीहरू एकआपसमा बोल्नै छाड्छन्, टाढिन्छन् अनि जीवनसाथीको रूपमा होइन कि कोठासाथीको रूपमा बस्न सुरु गर्छन्। अनि बिस्तारै उनीहरूको बीचमा एउटा गहिरो खाल्डो बन्न थाल्छ, जहाँबाट नाघ्न उनीहरूलाई मुश्किल पर्न थाल्छ। landscape-1455749342-gettyimages-585835605

गटम्यान भन्छन् कि यस्तो गर्नु हुँदैन। बरु रिसाइ-रिसाइ कुरा गर्नु ठीक! कमसेकम एक-अर्कालाई मन नपरेको कुरा त थाहा पाइन्छ। यदि कसैले आफ्नो सम्बन्ध बचाउन चाहन्छ भने जस्तोसुकै चर्को बहसलाई पनि बुद्धि पुर्याएर तर्क लगाएर हल गर्ने कोशिस गर्छन्।

घृणाको सुरुवात भएको कसरी थाहा पाउने?

आफूले केहि कुरा बोलेपछि तपाईँको जीवनसाथीले एकातर्फ आँखा बटार्छ भने बुझ्नुहोस् कि उसले तपाईँप्रति अवहेलना प्रस्तुत गरिरहेको छ। “त्यसलगायत, अर्को सङ्केत भनेको माथिल्लो ओँठ उचालेर नाक खुम्च्याउनु हो।”, गटम्यान भन्छन्- “यो नै घृणाको अभिव्यक्ति हो।”

तर कहिलेकाहिँ यस्तो सङ्केतलाई चिन्न सकिँदैन। उदाहरणकै लागिः घर कसरी सफासुग्घर राख्ने भन्ने विषयमा कहिलेकाहिँ विवाद पर्न सक्छ। अनि पत्निले भन्ला कि- ‘मेरो परिवारमा त सबैले आफ्नो घरको ख्याल गर्थे।’ तर यो वाक्यको अन्त्य लुकेको छ- ‘… तिम्रो परिवारको जस्तो होइन।’

यसले के अर्थ दिन्छ त भन्दाः ‘तिम्रो परिवारभन्दा मेरै परिवार उच्चस्तरीय छ।”

घृणालाई कसरी टाढा राख्ने?

यी ५ कुरा जसले घृणालाई कसरी टाढा राख्ने सिकाउँदछः

१. सम्झौता गर्नुहोस्

अपेक्षा गर्ने बानी राम्रो होइन। प्रेमजोडिहरूले एक-अर्काको सम्मान गर्ने गर्छन्, जुन राम्रो कुरा हो। तर नराम्रो कति बेला हुन्छ भन्दा, जब त्यो सम्मानमा अपेक्षा झल्किन थाल्दछ। यति कुरा बुझ्नुहोस् कि जसरी तपाईँको इच्छा, आकाङ्क्षा अनि चाहना फरक-फरक हुन्छ, त्यसरी नै तपाईँको साथीको पनि फरक चाहना हुन्छ। तपाईँलाई जुन कुरा मन पर्छ, उसलाई पनि त्यहि कुरा मन नपर्न सक्छ। यसको मतलब के हो त? तपाईँको समस्या कहिल्यै पनि हट्दैन। तपाईँले गर्न सक्ने एउटै मात्र कुरा भनेको ‘सम्झौता’ नै हो।

२. सोँच बदल्नुहोस्

समस्या तपाईँको साथीमा होइन, तपाईँमै छ भनेर सोँच्नुहोस्। उसको कुरा सुनेर तपाईँलाई नराम्रो लाग्छ भने, सोँच्नुहोस् कि खराबी तपाईँमा छ, तपाईँको सोँचमा छ। अनि आफ्नो गलत धारणाहरूलाई केलाउन थाल्नुहोस् र बिस्तारै हटाउँदै लैजानुहोस्।

३. रिस थेग्नुहोस्

तपाईँको साथीले आफ्नो मनको कुरा बोलिरहेको बेला उसलाई डिस्टर्ब नगर्नुहोस्, बोल्न दिनुहोस् अनि आफ्नो रिसलाई थेगेर राख्नुहोस्। उसको पुरै कुरा राम्रोसँग सुनेर मात्र त्यसको प्रत्युत्तर दिनुहोस्।

४. नम्र बन्नुहोस्

आफ्नो भावना र मनको व्यथा सुनाउने बेलामा साथीलाई धक्का नपुग्ने गरी बोल्नु आवश्यक हुन्छ। तपाईँ कस्तो महशुस गर्नुहुन्छ? तपाईँको चाहना के हो? अनि तपाईँलाई साथीको के कुराले चोट पुग्यो? यी सबै यावत कुराहरूलाई चर्को स्वरले प्रस्तुत गर्नु र नम्र भएर प्रस्तुत गर्नुमा आकाश-पातालको फरक हुन्छ।

५. सङ्केत बुझ्नुहोस्

माथि उल्लिखित घृणाको सङ्केत (आँखा तर्नु र नाक खुम्च्याउनु)लाई विचार गरेर बस्नुहोस्। अनि जब त्यो सङ्केत देख्नुहुन्छ, तब एकैचोटि आक्रोष पोख्ने गल्ती नगर्नुहोस्। बिस्तारै उसको कुरालाई बुझ्दै उसको हृदयलाई चिन्ने प्रयास गर्नुहोस्। एकचोटि टुटिसकेको विश्वासलाई जोड्न मुश्किल पर्छ भन्दैमा सबै तर्कलाई बिर्सेर जथाभावी बोल्नु पनि हुँदैन।