वन्यजन्तुको बासस्थान खल्बलिने गरी भौतिक संरचना निर्माण अघि बढेकोमा चिन्ता

चितवन, ०२ चैत । विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जभित्रको जैविक विविधता र वन्यजन्तुको बासस्थान खल्बलिने गरी भौतिक संरचना निर्माण अघि बढेकोमा चिन्ता र चासो व्यक्त गर्दै ‘युनेस्को’ मुख्यालयबाट आएको उच्चस्तरीय टोलीले अध्ययन सुरु गरेको छ । युनेस्को मुख्यालयबाट रेम्को भान मेरम, विब्लवकुमार तालुकदार, डा। याम मल्ल र लेइरे वेल्ट्रानलगायतको टोली आइतबार काठमाडौं आएको हो ।

टोलीले निकुञ्जको स्थलगत अध्ययन गर्नेछ । वन मन्त्रालय स्रोतका अनुसार एकसिंगे गैंडा र पाटेबाघलगायत विश्वमै दुर्लभ वन्यजन्तुको संरक्षणमा अग्रणी निकुञ्जको बासस्थान खल्बलिने गरी विकास निर्माण र भौतिक संरचना खडा हुन थालेपछि युनेस्कोले चासो देखाएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक फणीन्द्रराज खरेलका अनुसार युनेस्को टोलीले निकुञ्जभित्र बन्दै गरेका ठूला सडक, हुलाकी मार्ग, रेल मार्ग, मोटरेबल बेलिब्रिजलगायत भौतिक संरचनाको निरीक्षण गर्नेछ । निकुञ्ज क्षेत्र अतिक्रमण गरी स्वामी कमलनयनाचार्यले बनाएका भव्य आश्रम, मन्दिरलगायत संरचना तथा स्थानीय विकास मन्त्रालयको ‘डोलिडार’ ले वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० नगरी त्रिवेणीमा बनाएको बेलिब्रिजमा विशेष चासो राखेको महानिर्देशक खरेलले जानकारी दिए । युनेस्को टोलीले सोमबार बिहान वन मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरसहित सहसचिव, निकुञ्ज र वन विभागका अधिकारी, स्थानीय विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारी, सडक र रेल्वे विभाग तथा नेपाल टेलिकमका अधिकारीसँग छलफल गरेको थियो । टोलीले मंगलबार जैविक विविधता र वन्यजन्तु संरक्षणमा प्रत्यक्ष सहयोग गरिरहेका डब्लूडब्लूएफ नेपाल, प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लन्डन, नेपाललगायत संस्थाका अधिकारी र प्राविधिकसँग छलफल गर्नेछ । टोली बुधबार चितवन निकुञ्जको स्थलगत अध्ययनमा निस्कने छ । टोलीका सदस्यलाई निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भौतिक पूर्वाधार खडा भएको क्षेत्र, हुलाकी राजमार्ग र स्वामी कमलनयनाचार्यले निकुञ्ज अतिक्रमण गरी बनाएका आलिसान आश्रमलगायत भौतिक संरचनाको अनुगमन गराउने छन् ।