चितवनको मेघौलीका थारु होम स्टेमा पर्यटक घटे

नारायण अधिकारी
चितवन, ३ चैत । जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा परिचित पश्चिम चितवनको मेघौलीमा रहेका थारु होम स्टे नाकाबन्दीले प्रभावित बनेका छन् ।12842404_1172808356070309_1880524461_o

इन्धन अभावका साथै हरेक क्षेत्रमा समस्या उत्पन्न भएपछि होम स्टे पनि यसको मारमा परेका छन् । विगतका तुलनामा यस वर्ष निकै कम पर्यटक होम स्टेमा बास बसेका छन् भने होम स्टेबाट आम्दानी गरी गुजारा चलाउन निकै कठिन बनेको सञ्चालकले बताएका छन् ।

फेरि पुरानै अवस्थामा फर्कने आशमा उनीहरु अझै होम स्टे थपिरहेका छन् । यस वर्षको सुरुवातमा गएको भूकम्प र त्यसपछिको नाकाबन्दीले होम स्टे व्यवसाय प्रभावित बनेको थारु होम स्टे मेघौलीका अध्यक्ष सोमलाल चौधरी बताउनुहुन्छ । विगतमा यही आम्दानीबाट परिवार चलाउन सहज बनेकोमा यसपटक पर्यटकमा कमी आएसँगै होम स्टेबाट आश्रित परिवार प्रभावित बनेका छन् ।

होम स्टेमा २०७२ वैशाख १ गतेयता हालसम्म ३०० आन्तरिक तथा बाह्य पर्यटक मात्रै आएका छन् । उनीहरु मध्ये १० जना मात्रै विदेशी रहेका छन् । गत वर्ष वैशाखदेखि चैतसम्ममा एक हजार ६५४ जना आन्तरिक तथा बाह्य पर्यटक बास बसेका थिए । यस्तै २०६६ सालदेखि गत वर्षसम्मको आँकडामा ६ हजार ४० जना आन्तरिक पर्यटक तथा बाह्य पर्यटक होम स्टेमा बास बसेका छन् ।

विगतमा होम स्टे निकै फस्टाएको देखिन्छ । पाँच हजार ६८७ स्वदेशी, ५१८ विदेशी र ३५ जना सार्क राष्ट्रका पर्यटक होम स्टेमा बास बसेका थिए । विसं २०६६ माघ २६ गतेदेखि सुरु भएको मेघौली थारु होम स्टेमा हाल ४० जना बस्नसक्ने क्षमताको रहेको छ । उनीहरुले अझै केही होम स्टे निर्माण गरिरहेका छन् । अर्का होम स्टे व्यवसायी एवम् थारु होम स्टेका सचिव जीवन चौधरीले यस वर्ष होम स्टे व्यवसाय घाटामा गएको बताउनुभयो ।

“विगतमा बस्नका लागि ठाउँ पु¥याउनै कठिन हुन्थ्यो तर यसपटक मान्छे देख्नै गाह्रो भएको छ”–उहाँले भन्नुभयो । यहाँ अहिले पाँचवटा होम स्टे रहेका छन् । प्रायः ती सबै खेती किसानीसँगै यही होम स्टेमा आश्रित छन् । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सो क्षेत्रमा विभिन्न वन्यजन्तु हेर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

मैघालीमा ठुला–ठुला होटल रहेपनि सामान्य होम स्टेमा बस्न रुचाउने पर्यटक धेरै हुने भएकाले होम स्टे फस्टाएको हो । होम स्टेमा बस्न आउने विदेशी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी साँझपख थारु साँस्कृतिक प्रस्तुित समेत गर्ने गरिएको छ ।

थारु जातीको नृत्य झाम्टा, लाठ्ठीनाच, झुमरी नाचलगायतका नाच प्रस्तुत गर्ने गरिएको छ । यसले होम स्टेप्रति आकर्षण बढ्दो छ । यस्तै होम स्टेमा अन्य होटेलको जस्तो धेरै महँगो पनि नहुने र शान्त वातावरण हुने भएकाले पनि पर्यटक बढी आकर्षित भएका व्यवसायीको भनाइ छ ।

जिल्लामा मेघौलीसँगै माडीमा पनि केही होम स्टे सञ्चालनमा आएका छन् । यस्तै पूर्वी चितवनका कुमरोज, शक्तिखोर, बछैली, हात्तीवाङ्, चण्डीभञ्ज्याङलगाएतका क्षेत्रमा रहेका होम स्टे पनि नाकाबन्दीका कारण प्रभावित बनेका पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनाली बताउनुहुन्छ । ।

इन्धनको अभावले स्थानीय र बाहिरबाट आउने पर्यटक आउनै नसकेका कारण पर्यटकको सङ्ख्यामा कमी आएको उहाँले बताउनुभयो । भूकम्पपछि आउने पर्यटक साना कटेज हुने भएकाले होटलमा भन्दा होम स्टेमा बस्न रुचाउने गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा पनि भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण ६० प्रतिशत पर्यटकमा गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published.