भाडा घटेपछि हवाइ यात्रु बढे

दिपेन्द्र अधिकारी
चितवन, ०२ चैत । भरतपुरदेखि काठमाडौंका लागि हवाइ यात्रु बढेपछि यति एयरलाइन्सले उडान संख्या बढाएको छ । त्यस्तै, बुद्ध एयरले पनि हाल ठूला जहाज प्रयोगमा ल्याएको भरतपुर विमानस्थलले जनाएको छ । यति र बुद्ध एयरले दैनिक दुई–दुई उडान भर्दै आएका छन् ।
यति एयरले गत फागुन महिनाबाट भरतपुरदेखि काठमाडौंका लागि दैनिक दुई उडान भर्न थालेको भरतपुर विमानस्थलका वरिष्ठ अधिकृत केशव लम्सालले जानकारी दिए । त्यस्तै, बुद्ध एयरले भने १८ सिट भएको जहाज प्रयोग गर्न छोडेर ४७ सिट क्षमताका दुई जहाजबाट यात्रु ओसार्न थालेको उनले बताए ।airport
हाल जहाजको भाडा घटेकाले हवाइ यात्रुको चाप बढेको सम्बन्धित एयरलाइन्सका कर्मचारीहरु बताउँछन् । त्यस्तै, यात्रु संख्या बढ्नुको अर्को कारण नारायणगढ मुग्लिन सडकको मर्मत कार्य पनि हो । दिनको समयमा दैनिक ४ घण्टा बन्द हुँदा यात्रुको रोजाइमा जहाज परेको हो ।
हाल भरतपुरदेखि काठमाडौंसम्मको हवाइ भाडा अधिकतम ३ हजार २२५ देखि न्यूनतम २ हजार १३० रुपैयाँ छ । इन्धनको मूल्य घट्नुअघि ४ हजार ८५० रुपैंयाँसम्म हवाइ भाडा थियो ।
‘नाकाबन्दीअघि इन्धन अभावले एक उडान रहेकोमा तालिका अनुसार पछिल्लो समय २ उडानलाई निरन्तरता दिइएको यति एयर भरतपुरका प्रमुख राजेश सिंहले जानकारी दिए । यतिले नाकाबन्दी तथा भूकम्पअघि दुई वटा उडान भर्दै आएकोमा बीचमा एउटा मात्र उडानलाई निरन्तरता दिएको थियो ।
हाल चार वटा उडानबाट दैनिक १ सय ५० यात्रु राजधानी जाने गरेका छन् । केही महिना अघिसम्म सय जनाको हाराहारीमा भरतपुरबाट काठमाडौँ जाने गरेको थिए ।
‘हवाइ यात्रुको संख्या बढेपछि उडान संख्या र ठूला जहाज थपिएका छन्, वरिष्ठ अधिकृत लम्सालले भने, ‘कतिपय अवस्थामा चार्टर गरेर पनि यात्रु ल्याउने लैजाने काम भइरहेको छ ।’ नियमित उडान बाहेक पनि चार्टर उडान हुने गरेको विमानस्थलका कर्मचारीले जानकारी दिए । यात्रुको चाप बढेसँगै गत फागुन महिनामा मात्र ७ वटा चार्टर उडान भरिएको थियो ।
गत वर्ष फागुन महिनामा वुद्ध एयरले ५६ वटा उडान र यति एयरले ३५ वटा उडान भरेका थिए । यस वर्ष सोही अवधिमा बुद्ध एयरले ७४ र यति एयरले ५० सम्म उडान भरेको विमानस्थलका कर्मचारीले बताए ।
उडान संख्या बढ्नुका साथै ठूला जहाज पनि आउन थालेपछि विमानस्थलमा जहाज पार्किङको समस्या भएको उनले बताए । ‘पहिले सानो जहाज र थोरै उडान हुँदा पार्किङ सहज थियो, अहिले ठाउँ अभाव भएको छ’, लम्सालले भने । विसं। २०१५ सालमा भरतपुर विमानस्थल स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published.