जन्ती बोकेको बस दुर्घटना, सातजना घाइते

सप्तरी, चैत २ । राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको बभनगामाकट्टी–३ स्थित तोपा सडकखण्डमा सोमबार साँझ जन्ती बोकेको बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।accident
भारदहबाट जन्ती लिएर राजविराजतर्फ आउँदै गरेको बा १ ख ९४८१ नम्बरको बस ब्रेकफेल भई अचानक पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो बसमा सवार सात जना घाइते भएका छन् ।
घाइते हुनेमा मधुवापुर गाविस–२ बस्ने १४ वर्षीय नीरजकुमार मण्डल, सोही ठाउँका २५ वर्षीय नितेशकुमार मण्डल, बारा गढीमाई सीतापुरका ४५ वर्षीय मो कलाम आजाद मियाँ र भारतको सुपौल निवासी २० वर्षीय जीतेन्द्र मण्डलसहितका रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।