धुर्मुस सुन्तलीबिनाको मेरी बास्सै टिभीमा आउँदै

 

काठमाडौं, ०२ चैत । मिडिया हब र धुर्मुस सुन्तलीबिच हुने वार्ता सहमतिमा टुङ्गिएन भने मेरी बास्सैमा न फतौरी बूढी हेर्न पाइने छ न मुस्कान पाशाको रमाईलोमा हाँस्न नै । मिडिया हबले मेरी बास्सैको निर्देशक नै फेरेपछि खड्का जी, धुर्मुस, नक्कली केपी लगायत दर्जनौँ स्वरुपमा देखिँदै आएका सीताराम कट्टेलको अभिनय हेर्नबाट दर्शक बञ्चित हुँदैछन् ।DHURMU

आर्थिक हिसाब किताबमा कुरा नमिलेपछि, लामो समयदेखि नै केदार घिमिरे अर्थात माग्ने बूढा मेरी बास्सैमा नदेख्दा नै खल्लो महसुस गर्ने दर्शकका लागि धुर्मुस र सुन्तली पनि मेरी बास्सैमा नआउने हो भने नुन, बेसार, मसला, अमिलो र नुनिलो बिनाको अचार खाएजस्तै हुनेवाला छ ।
सोमबार सार्वजनिक भएको खबर अनुसार अब मेरी बास्सैको निर्देशन यही श्रृङ्खलाका क्यामराम्यान मनराज श्रेष्ठ गुर्जुधाराले गर्दैछन् । बुधबार प्रशारण हुने श्रृङ्खलामा हाँस्यकलाकार ज्योति काफ्ले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र हालका प्रधानमन्त्री केपी ओलीको भूमिकामा देखिनेछन् ।
सुरुवातदेखि नै लेखन र निर्देशनमा सक्रिय केदार र सितारामको जोडी मेरी बास्सैमा नदेखिँदा यसको निर्माता संस्था र प्रशारण च्यानललाई मात्र अप्ठ्यारो पर्दैन बिज्ञापन दाता पनि अलमलमा पर्न सक्छन् ।
यसबारे सिताराम कट्टेल धुर्मुसको प्रष्टिकरण यस्तो छ :

यो मिडिया हबसँगको छलफल गरेर उहाँहरुले ल्याउनुभएको हो । मिडिया हबसँग नै सबै अधिकार छ, नाम हामीले जुराए पनि । हामी मंगलबार प्रसारण हुने श्रृखलामा छैनौँ । आउँदा दिनमा हामी रहने या नरहने, कसरी जाने भन्ने विषयमा विभिन्न चरणमा वार्ता भएका छन् । मिडिया हबले बन्द भएका सम्पूर्ण हास्यब्यङ्ग्य टेलिश्रृङ्खला पुनः प्रसारणमा लैजाने भनेको छ । अहिले हाम्रो अन्य कामका कारण ब्यस्तता बढेको छ । मेरी बास्सैमा त्यती लामो समयसम्म काम गरेको हुनाले धेरै माया छ ।

भोलिका दिनमा हामी पनि रहने भयौँ भने, हामी नै नेतृत्व गरेर लैजान्छौँ । तर पहिलो भागसम्मलाई उहाँहरुले नै गर्नुभएको छ ।
यसको सबै अधिकार मिडिया हबमा छ । मिडिया हबकै सम्पत्ति भएकाले उहाँहरुले जसलाई पनि प्रसारण गर्न दिनसक्नुहुन्छ । टेलिसिरियलहरु बन्द गर्दै प्रसारण गर्दै गर्नु भन्दा पनि निरन्तरता दिनु पर्छ जस्तो लाग्छ ।