जयश्री पुल पुनर्निर्माण सुरु

आन्नद पोख्रेरल  

गैंडाकोट, ०२ चैत । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोटको जयश्री पुल पुनर्निमाण गर्ने तयारी गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्डको नवलपरासीमा पर्ने जय श्री पुल भाँचिएपछि बेलीब्रीज मार्फत सवारी आवागमन सुरु गरिएको छ । IMG_0727
गत साउन ११ गते भाँचिएको पुल पुनर्निर्माणको लागि काम सुरु गरिएको हो । फागुन २१ गतेदेखि सुरु गरिएको पुनर्निर्माण अन्तर्गत पहिलो चरणमा उक्त पुललाई जगदेखि नै हटाउन थालिएको छ । पुललाई जगदेखि नै हटाएपछि नयाँ नक्सा सहित पुल निर्माण गरिने पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलका प्रमुख ईन्जिनियर मेघराज मरासिनीले बताए ।

चालु आर्थिक वर्ष २०७२/०७३ भित्र नै निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको ठेक्का दिइएको मरासिनीले जानकारी दिए ।
नयाँ पुल निर्माणको लागि अहिले पुरानो फलामे पुललाई भत्काउने काम भइरहेको र उक्त पुल भत्काएर सकिएपछि नयाँ पुलको निर्माण थालिने मरासिनीको भनाइ छ । अस्थायी रुपमा निर्माण गरिएको बेलीब्रीजको आयु लामो समय नभएकोले नयाँ पुल निर्माणको लागि प्रकृया सुरु गरिएको मरासिनीले बताए । उक्त पुल निर्माणको लागि एडभेन्चर कन्स्ट्रक्सन प्रालिलाई ठेक्का परेको मरासिनीले जानकारी दिए ।
पहिले फलामे पुल भएको कारण बेला बेलामा समस्या आएका कारण अब भने आरसीसी (पक्की) पुल निर्माण गर्नको लागि ठेक्का दिइएको मरासिनीले बताए । पक्की पुलको लागि तीन वटा पिल्लर खडा हुने र लम्बाई ३२ मिटरको नै रहने मरासिनीले जानकारी दिए । पुल निर्माणको लागि करिब दुई करोड २५ लाख रुपैयाँको टेन्डर स्वीकृत भएको मरासिनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.