प्रहरीलाई मानव अधिकार सम्बन्धी प्रशिक्षण

 

हेम रोकाहा
गैंडाकोट, १ चैत । एम्नेष्टी इन्टरनेशनल नेपालको आयोजना तथा एम्नेष्टी इन्टरनेशनल नेपाल नारायणी समुह ३३ चितवनको व्यवस्थापनमा प्रहरीहरुका लागि मानव अधिकार प्रशिक्षण कार्यशालाको आयोजना गरिएको छ ।5410d6078407279f4499157192ceb67d

मानव अधिकारको कार्यान्वयन गर्ने प्रमुख अंगको रुपमा रहेको प्रहरी प्रशासनलाई मानव अधिकारी बारे सुसुचित गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले मानव अधिकारको उल्लंघन गर्नेमा राज्यका उच्च ओहोदामा रहेका अधिकार सम्पन्न व्यक्तिहरु नै अघि रहेको बताउनुभयो । आधारभूत मानव अधिकारको ज्ञान नहुँदा पनि मानव अधिकारको अल्लंघन हुने गरेको उहाँको भनाइ छ ।

मानव अधिकारको संरक्षण गर्ने जिम्मेवारी राज्यको नै भएको बताउँदै प्रमुख जिल्ला अधिकारी सिंहले राज्यका जिम्मेवार निकायहरु यसबारे सचेत हुनु पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक रण बहादुर चन्दले नेपाल प्रहरी मानव अधिकारको कार्यान्वयन गर्ने पहिलो निकाय भएकाले यसमा नेपाल प्रहरी लागेको बताउनुभयो ।

नेपाल प्रहरीलाई चुस्त बनाउन विभिन्न तहमा प्रशिक्षण कार्यक्रमहरु पनि बेलाबेलामा सञ्चालन भइरहेको उहाँको भनाइ छ । मानव अधिकारको कार्यान्वयनलाई नेपाल प्रहरीले प्रमुख स्थानमा राखेको उहाँले बताउनुभयो । चितवनका स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेलले संविधानमा मानव अधिकारको सम्बन्धमा नेपाल अगाडि भएपनि मावन अधिकारको कार्यान्वयन भने फितलो रहेको बताउनुभयो ।

नेपालमा साँस्कृतिक कुरितिले मानव अधिकारको कार्यान्वयनमा चुनौति थपेको बताउनुभयो । प्रशिक्षण कार्यशालामा प्रहरी निरीक्षक रामनाथ घिमिरे, एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व राष्ट्रिय अध्यक्ष प्रदिप पोखरेल, चितवन जिल्ला न्यायधिवक्ता मणिराम न्यौपानेले मानव अधिकार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

कार्यशालामा जिल्ला प्रहरी कार्यालय चितवनबाट १५ जना तथा जुनियर प्रहरी अधिकृत शिक्षालयबाट १५ जना प्रहरीहरुको सहभागिता रहेको थियो । कार्यक्रम एम्नेष्टी इन्टरनेशनल नेपाल नारायणी समुह ३३ चितवनका अध्यक्ष जयराम सिंहको अध्यक्षतामा भएको थियो ।