जैविक पदमार्ग बनाउन जुटे माडीबासी

 

चितवन, चैत्र १ । पर्यटकीय क्षेत्र सौराहालाई पर्यटनको सम्भावना बोकेको माडीसँग जोड्नको लागि पर्यटकीय जैविक पदमार्ग बनाउन सुरू गरिएको छ ।madi1

माडीको बगइबाट बिहीबारदेखि सुरू भएको पदमार्ग निर्माण कार्य चैत १७ गतेसम्म सक्ने लक्ष्य छ । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको सक्रियतामा पदमार्ग खोल्न स्थानीयहरु जुटेका हुन् । पदमार्ग निर्माणमा सात लाख ७५ हजार ५ सय रूपैयाँ खर्च हुने अनुमान छ ।
‘पौने ८ लाख रूपैयाँको हाराहारीमा खर्च लाग्ने अनुमान हो । अहिले हामीलाई चितवन राष्ट्रिय निकुञ्जले पाँच लाख रूपैयाँ उपलब्ध गराएको छ । त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषले एक लाख रूपैयाँ दिएको छ । त्यसैले हामी काम सकेरै छोड्ने छौँ’ अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मधुरा भण्डारीले भने । माडी र सौराहाबीचमा झण्डै २२ किलो मिटर जंगल र चुरे पहाड छ ।

सौराहामा पर्यटनको अत्याधिक विकास भएर स्थानीयले लाभ लिएका छन् । सौराहाबाट सीधा दक्षिण क्षेत्रमा पर्ने भए पनि माडीमा पर्यटनको विकास हुन सकेको छैन । माडी र सौराहालाई जोड्न सके पर्यटनमा फड्को मार्न सकिने पदमार्ग निर्माण समितिका संयोजक तथा माडीको साविक अध्योध्यापुरी गाविसका पूर्वअध्यक्ष नारदमणि पौडेलले बताएको आजको चितवन पोष्ट दैनिकमा खबर छ ।

पदमपुर स्थानान्तरण नहुँदासम्म माडी बगइका जीतबहादुर राई आफन्तहरुलाई भेट्न पैदलै माडी पदमपुर ओहोरदोहोर गर्दथे । बगइबाट सीधा उत्तर हिँडेका जीतबहादुर तीनदेखि चार घण्टामा पदमपुर पुग्थे । त्यहाँबाट सौराहा पुग्न एक दुई घण्टा लाग्दछ । बगइदेखि पदमार्ग बनेमा बढीमा सात÷आठ घण्टामा सौराहा पुग्न सकिने जीतबहादुर बताउँछन् । पदमार्ग निर्माण टोलीमा उनी पनि सामेल छन् ।

बगइका शिक्षक विश्वनाथ घिमिरे विसं। २०५० सालदेखि ५४ सालसम्म सौराहामा बसेर पर्यटक डुलाउने पथ प्रदर्शकको काम गर्दथे । उनी पनि पटकपटक हिँडेरै सौराहादेखि माडीको आफ्नो घरमा आउने गर्दथे । पर्यटक लिएर त्यो बेला माडी आउन कल्पना गर्न सक्दैन थिए उनी । तर अब माडीको सम्भावना नै पर्यटन हो भन्ने ठानेर उनी पनि पदमार्ग निर्माण टोलीमा मिसिएका छन् ।

.