अंश माग्ने डरले मधेशका महिलालाई नागरिकता बनाउन मुस्किल

केशब पराजुली
परासी,३० फागुन । भारतबाट विवाह गरी ल्याउने महिलाका श्रीमानले उनीहरुको नागरिकता बनाउन आलटाल गर्ने गर्दा नागरिकता पाउनबाट बञ्चित भएका छन् । नवलपरासीको दक्षिण भेगका गाविसका महिलाहरु यस्तो समस्यामा परेका हुन् ।nagarikata

कानुन अनुसार नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले वैवाहिक अंगिकृत नागरिकता पाउने प्रचलन छ । त्यसरी विवाह गरेर आएका भारतीय महिलाहरुले नागरिकता बनाउन माग गर्दा अंश माग्ने डरले उल्टै विदेशीले नागरिकता नपाउने भन्दै श्रीमान्ले नै पन्छाउने गरेको उदाहरण सीमा क्षेत्रमा अधिक रहेको अध्ययनले देखाएको छ ।

महिलाको न्यायमा पहुँच सम्बन्धि अध्ययन अनुसन्धान केन्द्रले गरेको अध्ययनमा नाता कायम भएपछि सम्पत्ति माग्ने त्रासले नागरिकता बनाउन परिवारले आलटाल गर्ने गरेको केन्द्रका संयोजक एवम् अधिवक्ता बालकृष्ण पौडेलले बताए । उनका अनुसार नागरिकता नबनाउँदा त्यसबाट उनीहरुका छोरीछोरीहरुलाई पनि समस्या पर्ने गरेको छ । नागरिकता बनाईदिएपछि सम्पत्तिको हक खोज्ने र त्यस पश्चात सम्बन्ध विच्छेद गर्न खोज्ने भएकाले नागरिकता नबनाई दिने प्रचलन अझ पनि दक्षिण भेगमा कायम छ । जसका कारण बृद्ध भईसक्दा पनि महिलाहरु नागरिकताबाट बञ्चित छन् ।

कतिपयको त नागरिकता नबनाई मृत्यु हुने गरेको छ । त्यसले गर्दा मृत्यु दर्तामा समेत समस्या भएको गाविस र नगरपालिकाहरुले जनाएका छन् । त्यसरी नागरिकता बनाई दिन नखोज्नेमा भारतीय महिलाहरुलाई विवाहित गर्ने नेपाली धेरै छन् । दक्षिण भेगमा गरिएको अध्ययनमा भारतीय महिलालाई विवाह गर्ने नेपाली पुरुषमध्ये करिब चालीस प्रतिशतले नागरिकता नबनाई दिने गरेको पाइएको केन्द्रका संयोजक पौडेलले बताए ।

श्रीमतीले पटक पटक विवाह दर्ताका लागि श्रीमानलाई दबाब दिने गरेपनि वर्षौसम्म उनीहरु नाता कायम हुनबाट वञ्चित छन् । जसले गर्दा नागरिकता बन्न सकेको छैन । विवाह गरेको ३५ दिनभित्र विवाहदर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ तर विवाह दर्ता गर्न माग गर्दा श्रीमान्हरुले किन दर्ता गर्नुप¥यो रु भनेर हप्काउने गरेको गाविसमा कार्यरत सामाजिक परिचालकहरुले जनाएका छन् ।

रामग्राम नगरपालिकाकी पञ्जिकरण शाखा प्रमुख निर्मला प्रजापतिले अधिकांश महिलाहरु नागरिकता नभएका कारण सरकारी सुविधाबाट वञ्चित हुनु परेको बताइन । ‘बृद्ध भत्ता पाउने भएपछि अहिले नगरपालिकामा ६० देखि ७५ वर्षसम्मका महिलाहरु विवाह दर्ता गराउन आउनेको संख्या बढ्दै गएको छ ।’

उनले भनिन–‘ मधेसमा विवाह दर्ता गरेपछि नागरिकता बनाउन माग्ने र त्यसपछि सम्पत्ति खोज्न भय भएकाले अधिकांश महिलाहरुको नागरिकता बनाउन परिवारहरुले नमान्ने गरेका घटना छन् ’ ।

लौरो टेकेर विवाह दर्ता गरिदेउ भन्दै श्रीमानलाई लिएर बृद्धहरु आउँछन् ।’ उनले थपिन– ‘ २०३६ सालभन्दा अघि विवाह भएकालाई सर्जिमिन गरेर विवाह प्रमाणित गरिदिने र त्यसपछिकाको विवाह दर्ता गरिदिने गरेका छौं ।’ मधेसमा अझ पनि जनचेतना अभावले नागरिकता परिवारबाटै नबनाउने संख्या बढी रहेको बताइन ।

नगरपालिकाकै मेलमिलाप संयोजक रामजी सहानीले विवाह भएको १५÷२० वर्षसम्म नागरिकता नबनाएको र उमेर ढल्किदैं गएपछि मात्र सरकारी सुविधा लिनका लागि बनाउने गरेको बताए । नागरिकता बनाउने अटेर गर्ने परिवारको विषयलाई लिएर धेरै उजुरी आउने गरेको र त्यस्ता व्यक्तिहरुलाई सम्झाएर समस्या समाधान गर्ने गरेको उनले बताए ।

विवाह दर्ता नभएका कारण नागरिकता नबनेका महिलाहरुले आफ्ना सन्ततिहरुको जन्मदर्ता गर्न नपाउँदा उनीहरुको भविश्य पनि अन्यौलमा पर्ने गरेको छ ।

तराइ– मधेशमा यस्ता समस्याहरु धेरै रहेको र त्यस्ता उजुरीहरु पारालिगल कमिटि तथा मेलमिलाप केन्द्रमा आउने गरेको मेलमिलापकर्ता समाज नेपालका केन्द्रिय सदस्य नगेन्द्र यादवले जानकारी दिए ।

बन्जरिया गाविसकी पारालिगल कमिटी अध्यक्ष मञ्जु चौधरीले विवाह दर्ता नहुनुमा श्रीमानकोभन्दा पनि घरपरिवारको दबाब धेरै हुने गरेको बताइन । त्यस्तै सामाजिक परिचालक पमी गुप्ताले केन्द्रहरुमा आउने अधिकाश उजुरी बिबाह दर्ता, जन्म दर्ता र नागरिकता सम्बन्धिका रहेको जानकारी दिए ।