सृष्टि देशकै पहिलो भएको दावी

भरतपुर, २९ फागुन । गतवर्ष लिइएको कक्षा ११ को परीक्षामा चितवनको वाल्मीकि शिक्षा सदनकी छात्रा सृष्टि तिवारी नेपाल प्रथम भएको दावी उनको विद्यालयले गरेको छ । 4व्यवस्थापन संकायमा अध्ययनरत तिवारीले ५ सय पूर्णाङ्कमा ४३५ अर्थात ८७.२० प्रतिशत अंक ल्याएको र यो नेपालभर जुनसुकै विद्यार्थीले ल्याएको अंकभन्दा बढी भएको दावी विद्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत गरेको हो ।
सो विद्यालयबाट विज्ञान संकायतर्फ गतसाल हरि सेढाईंले देशैभर टप गरेको दावीलाई पनि कसैले गलत सावित गरेको छैन । उनले ८९.२० प्रतिशत अंक ल्याएका थिए ।

उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी भक्तपुरले प्रकाशन गरेको नतिजाअनुसार सृष्टिले सर्वोत्कृष्ट नतिजा हासिल गरेकी हुन् । वि.सं.२०५३ मंसिर २९ गते स्थापना भएको वाल्मीकि शिक्षा सदनले दुई दशकको अवधिमा चितवनमा मात्रै नभई राष्ट्रियरुपमा पनि उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाउन सफल भएको छ । भरतपुर–७ निवासी सृष्टिले शिक्षक तथा परिवारको सहयोगको कारणले आफू उत्कृष्ट हुन सफल भएको बताइन् ।

एसोएस सुर्खेतबाट एसएलसीमा ९१ प्रतिशत हासिल गरेकी उनको चार्टर्ड एकाउन्टेन्ट बन्ने लक्ष्य छ ।
कक्षा १२ को परीक्षामा पनि उत्कृष्ट अंक ल्याउनेमा उनी ढुक्क देखिइन् । उनले आफ्नो लक्ष्य सजिलै पार गर्नेमा आमा सुजना पनि ढुक्क देखिइन् । विद्यालयका दश जोड दुई संयोजक डा. हरिहर पौडेलले विद्यालयले आफूलाई सर्वोत्कृष्ट प्रमाणित गरिसकेकाले यस्तै नतिजा जारी राख्ने दावी गरे । प्राचार्य देशबन्धु अधिकारीले देशभरमै अब्बल विद्यालयका रुपमा साख कायम राख्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.