८ महिनामा रनपाको आम्दानी ११ करोड

 

चितवन, ३० फागुन । रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षको ८ महिनामा ७१ प्रतिशत भन्दा बढी आम्दानी गरेको छ । यस अवधिमा नगरपालिकाले कूल ११ करोड ६२ लाख ८५ हजार आम्दानी गरेको जनाइएको छ । Ratanagar nagarpalika
चालु आर्थिक वर्षमा १६ करोड २० लाख ८५ हजार आम्दानी गर्ने लक्ष्य लिएको छ । “अहिलेसम्मको आम्दानी राम्रो छ”, शुक्रबार भएको आर्थिक वर्ष २०७२/७३ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका लेखा अधिकृत सीताराम पोखरेलले भने, “अबको ४ महिनामा हामी लक्ष्यमा पुग्छौं ।”

लेखा अधिकृत पोखरेलका अनुसार यो अवधिमा १ करोड ९६ लाख आन्तरिक तथा ८ करोड ८३ लाख बाह्य स्रोतबाट आम्दानी भएको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ३ करोड ७१ लाख र बाह्य स्रोतबाट साढे १२ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।
करिब साढे ११ करोड आम्दानी गरेको नगरपालिकाले ८ महिनामा १० करोड १७ लाख खर्च गरेको लेखा अधिकृत पोखरेलले बताए । नगरपालिकाले एकीकृत सम्पत्ती कर, नक्सापास, चारकिल्ला प्रमाणित, सिफारिस, व्यवसायिक करबाट आन्तरिक आम्दानी गर्छ भने सीएफएलजी, सडक बोर्ड, सामाजिक सुरक्षा भत्ता बाह्य स्रोत हो । खर्चमध्ये २९ प्रतिशत सामाजिक सुरक्षा भत्ता, १९ प्रतिशत प्रशासनिक खर्च र ५२ प्रतिशत पुँजीगत खर्च भएको नगरपालिकाले जनाएको छ ।

यो अवधिमा नगरपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गरिसकेको छ । सार्वजनिक सुनुवाइमा नगरबासीले नगरपालिकाले गरेका कार्य सम्पादनप्रति सन्तोषजनक प्रतिक्रिया दिए । उनीहरुले एकाध ठाउँबाहेक बाटोघाटो, कुलो निर्माणमा समस्यामा रहेपनि समग्रमा सन्तोष व्यक्त गरे ।

सहभागी वडा नागरिक मञ्चका प्रतिनिधिहरुले मञ्चलाई त्यति भूमिका नदिइएको गुनासो गरे ।
धेरै नगरबासीहरुले विकास निर्माणमा सहभागिता नजनाउने तर कार्यक्रममा गाली मात्रै गर्ने भन्दै दलहरुको विरोध गरे । शुक्रबारको कार्यक्रममा अनुपस्थित भएका दलहरुतर्फ इङ्गित गर्दै नगरबासीले जनसरोकारको विषयमा चासो नदिएको भन्दै आपत्ती जनाए । नगरपालिकाका निमित्त प्रमुख एवं कार्यकारी अधिकृत भरतकुमार थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा योजना शाखा प्रमुख ईञ्जिनियर प्रकाशचन्द्र ढुंगानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.