सौर्य ऊर्जाबाट सञ्चालित डाइलोसिस सेवा प्रभावकारी

 

चितवन, २८ फागुन । चितवनको रत्ननगर अस्पतालमा सौर्य ऊर्जाबाट सञ्चालित मिर्गौलाको डाइलोसिस सेवा प्रभावकारी भएको छ ।

फाईल तस्वीर
फाईल तस्वीर

छोटो समयमै सेवा लिने बिरामीको सङ्ख्या ३५८ पुगेको रत्ननगर अस्पतालले जनाएको छ । गत मङ्सिर १५ बाट यहाँ नेपालमै पहिलोपटक सोलारबाट डाइलोसिस सेवा सुरु भएको थियो । आज ११औँ विश्व मिर्गौैला दिवस देशका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
दिवसको सन्दर्भमा डाइलोसिस सेवाबारे जानकारी दिँदै अस्पतालले बिरामीलाई डाइलोसिसका लागि अन्यत्र नजान सुझाव दिएको छ । यो तीन महिनाको अवधिमा ३५८ जनाले सेवा लिए, बिरामीको सेवा गर्दैै आएका स्वास्थ सहायक चन्द्रकान्त आचार्यले भने, ‘सर्लाही, रौतहटदेखि गोरखासम्मका बिरामी डाइलोसिसका लागि आउँछन् ।’
गत मङ्सिर १५ गते सेवा सुरु भएपछि १६ गतेदेखि चितवन माधवपुरका धनबहादुर सार्कीले डाइलोसिस सुरु गरेका हुन् । आज पनि उनी डाइलोसिस गर्न आउँदा रत्ननगर अस्पतालमा भेटिएका थिए । सार्की भन्छन्, ‘काठमाडौं जान आउन मात्रै आठ हजार खर्च लाग्थ्यो, अनि नियमित डाइलोसिस गर्दा त्यहाँ बस्नुपर्ने थियो । अहिले घर छेउमै सेवा पाउँदा खुसी लागेको छ ।’
दुबै मिर्गौला फेल भएको चार महिना भएको छ उनको । उनीसँगै गोरखाबाट आएका अर्मत केसी पनि श्ययामा बसेर डाइलोसिस गर्दै थिए । पाँच महिनादेखि रोग लागेकाले अहिले नियमित डाइलोसिस गरिरहेको केसी बताउँछन् ।
रत्ननगर अस्पतालमा अहिले ३५८ जनामध्ये १३ जना विपन्नको निःशुल्क डाइलोसिस हुँदै आएको छ । सर्लाहीका मञ्जुर हक मियाँ, रौतहटका हीरालाल महत्तो, गोरखाका अमृत केसी, मकवानपुरका दीपक आले र गुरुङ आले मगर, नवलपरासीका अविनाश सेन पनि रत्ननगरमै आएर डाइलोसिस गरिरहेको अस्पतालका हेल्थ असिस्टेन्ट चन्द्रकान्त आचार्य बताउँछन् ।
अस्पतालमा शान्तिमेड नेपालको सहयोगमा मिर्गौला उपचार केन्द्र स्थापना गरी आवश्यक उपकरण जडान गरेर सोलारबाट डाइलोसिस सेवा सुरु भएको हो । सेवा सुरु भएपछि उपचारका लागि विभिन्न जिल्लाबाट बिरामीसमेत आउन थालेका छन् । करिब एक करोड लागतमा सोलारबाट सेवा सुरु गरिएको थियो । ३५ लाख वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्राप्त भएको थियो । डाइलोसिसका लागि आवश्यक ६ वटा मेसिन अस्पतालमा जडान गरिएको छ ।