शेर्पा समुदाय आज ल्होसार मनाउँदै

चितवन, फागुन २६ । हिमाली आदिवासी शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछन् । ल्होसारका राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै शेर्पा जातिको महान् पर्व नयाँ वर्ष ‘‘ग्याल्पो ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।sherpa
राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा विश्व पर्वतारोहणको इतिहासमा अनेकौँ कीर्तिमान कायम गरेर संसारभरि नेपालको गौरव फैलाउने शेर्पा समुदायको यस महान् पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस् भन्ने कामना पनि गरेकी छन् ।
विविधताले भरिपूर्ण सिङ्गो नेपाली संस्कृतिभित्रको शेर्पा जाति तथा समुदायको संस्कृति, भाषा, वेशभूषा र परम्परा आफैँमा मौलिक, सु–संस्कृत, सम्पन्न र समृृद्ध रहेको राष्ट्रपतिको शुभकामनामा उल्लेख छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली आदिवासी शेर्पाको चाड ग्याल्पो ल्होसार–२०७२ का अवसरमा यस समुदायका सबैप्रति सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिँदै यो पर्वले सम्पूर्ण शेर्पा समुदायमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र शेर्पा समुदाय र अन्य समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याओस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।
‘चाडपर्वले सम्बन्धित समुदायमा नयाँ उमङ्ग, हौसला र उत्साह प्रदान गर्दछन् । विभिन्न समुदायको धार्मिक र सांस्कृतिक पर्वले आपसमा भाइचारा स्थापित मात्र गर्दैनन्, सबै धर्म, जातजाति, भाषा र संस्कृति मान्ने समुदायलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान गर्न, संरक्षण र सम्वर्द्धन गर्न पनि अभिप्रेरित गर्दछन्,’ सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।