नारी दिवसमा वक्तृत्वकला

गैंडाकोट, २५ फागुन । व्यक्ति व्यक्ति परिवर्तन भएमा मात्र समाज परिवर्तन हुने बताएको छ । व्यक्ति व्यक्ति परिवर्तन भएमा समाज र समाज परिवर्तन भएमा राष्ट्र परिवर्तन हुनेमा गैंडाकोटबासीले जोड दिएका हुन् ।

एक सय ६औं नारी दिवसको अवसर पारेर मंगलबार गैंडाकोटमा आयोजना गरिएको सक्षम महिला, सुखी परिवार, आर्थिक सबलता विकासको आधार विषयक वक्तृत्वकला प्रतियोगिताका वक्ताहरुले नारी सक्षम भएमा राष्ट्रको समुन्नत विकास हुने धारणा राखेका छन् । अन्तरपार्टी महिला सञ्जाल गैंडाकोट र सामुदायिक रेडियो विजय एफएम गैंडाकोटको आयोजनामा भएको वक्तृत्वकलाका प्रतियोगिताहरुले गफ गरेर भन्दा पनि महिला शसक्तिकरणको विषयमा काम गरेमा मात्र महिला सवल हुने धारणा राखेका थिए ।

भाषण र बोलिले नारीको विकास नहुने भएकाले उनीहरुलाई तालिम र सीप प्रदान गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रमका प्रमुख अथिति गैंडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्रि प्रसाद तिवारीले महिला र पुरुष सँगसँगै अगाडि बढेमा मात्र परिवार र समाज हुँदै राष्ट्रको विकास हुने बताए । कार्यक्रममा एकल महिला पैरवी मञ्चकी लक्ष्मी भट्टराई, विजय एफएमका अध्यक्ष इन्द्रराज ज्योति पौडेललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम अन्तरपार्टी महिला सञ्जाल गैंडाकोटकी अध्यक्ष रेखा पौडेलको अध्यक्षतामा भएको थियो । यसैबीच, सक्षम महिला, सुखी परिवार आर्थिक सबलता विकासको आधार विषयक वक्तृत्वकलामा रञ्जीता आचार्य पहिलो हुँदै तीन हजार रुपैयाँ र प्रमाणपत्र हात पारिन् । त्यस्तै प्रतियोगितामा दोस्रो हुने अञ्जना थापाले दुई हजार रुपैयाँ र प्रमाणपत्र, तेस्रो हुने खिना शर्माले एक हजार रुपैयाँ र प्रमाणपत्र तथा सान्त्वना हुने वसन्ती गौतमले पाँच सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।

लैंगिक समानताका लागि पाइला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी भन्ने नाराका साथ विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको थियो । नेपालमा भने संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौँ भन्ने नाराका साथ नारी दिवस मनाइएको हो ।

Leave a Reply

Your email address will not be published.