अक्षयकोष स्थापनार्थ रविन्द्र मिश्रको कविता

नारायणगढ, २५ फागुन । मानव सेवा आश्रमको अक्षयकोष स्थापनार्थ सहित्यकार एवम् पत्रकार रविन्द्र मिश्रको एकल कविता वाचन कार्यक्रम गरिने भएको छ ।

सर्वोत्कृष्ट जीवनःशाश्वत चिन्तनद्वारा सञ्चालित मानव सेवा आश्रम भरतपुरले यही फागुन २९ र ३० गते मिश्रको कविता वाचन कार्यक्रम गर्न लागेको हो । मानव सेवा आश्रमले मंगलबार पत्रकार भेटघाटको आयोजना गरि मिश्रको एकल कविता वाचनको जानकारी दिएको हो । शनिबार साँँझ चार बजेदेखि छबजेसम्म, आइतबार बिहान सातदेखि नौ बजेसम्म र आइतबार साँझ चारदेखि छबजेसम्म कवि मिश्रको कविता वाचन कार्यक्रम राखिएको अभियान्ता रामजी अधिकारीले जानकारी दिए ।

कवि मिश्रको एकल कविता वाचन कार्यक्रम नारायणगढको नारायणी कला मन्दिरमा हुने र व्यवस्थापनको काम सुरु गरिएको अधिकारीले जानकारी दिए । कवि मिश्रको एकल कविता वाचनबाट संकलन भएको रकमबाट आश्रम सञ्चालनको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको अधिकारीले बताए । संस्थाले अहिले अशक्त, अनाथ, अपांग, असहाय एवम् मानसिक सन्तुलन गुमइ सडकका पेटीहरुमा बेवारिसे अवस्थामा कष्टकर जीवनयापन गर्दै आएका व्यक्तिलाई उद्धार गरि आश्रय दिँदै आएको छ ।

रविन्द्र मिश्रको कविता वाचनबाट चितवनमा पनि परोपकारी भावना, सामाजिक र मानवीय भावना विकास गर्न थप मद्दत पुग्ने विश्वास लिएको अधिकारीले बताए । हाल मानव सेवा आश्रम भरतपुरमा ३७ जना व्यक्तिहरु आश्रित रहेका आश्रमकी अभियान्ता रुपा केसीले बताइन् । चितवनमा संस्था सञ्चालन भएको चार महिनाको अवधिमा तीन जनाले संस्थामा नै देह त्यागेका र अहिले तीन जना विरामीको उपचार भइरहेको केसीले बताइन् । नेपाललाई सडक मानव मुक्त देश बनाउने उद्देश्यका साथ संस्था सञ्चालनमा ल्याइएको हो ।