विपन्न विद्यार्थीलाई पोशाक वितरण

गैंडाकोट, २५ फागुन । नवलपरासीको गैंडाकोट गाविस वडा नम्बर ६ का गरिब, विपन्न तथा विपद्बाट प्रभावित समुदायका बालबालिकाहरुलाई पोशाक तथा शैक्षिक सामग्री प्रदान गरिएको छ ।

गैंडाकोट नगरपालिका, सहमति र विपद् व्यवस्थापन समिति गैंडाकोट वडा नम्बर ६ को सहकार्यमा विपन्न परिवारका व्यक्तिहरुलाई मंगलबार शैक्षिक सामग्री प्रदान गरिएको हो । गैंडाकोटका विभिन्न तीन वटा विद्यालयमा अध्ययन गर्ने एक जना अपाङ्ग सहित १८ जना छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको हो । संयुक्त रुपमा प्रदान गरिएको शैक्षिक सामग्रीबाट भाग्योदय प्राविका १२ जना कालिका उच्च माविका पाँच जना र विजय सामुदायिक उच्च मावि शिक्षा सदनका एक जना विद्यार्थी लाभान्वित भएका छन् ।

IMG_0081

कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई सर्ट, पाइन्ट, झोला एक÷एक थान तथा कापी र पेन्सिल एक÷एक दर्जन प्रदान गरिएको थियो । त्यसैगरी, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई सर्ट, पाइन्ट, झोला एक÷एक थान तथा कापी र बलपेन एक÷एक दर्जन प्रदान गरिएको थियो । शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्रि प्रसाद तिवारीले गरिब र विपन्न समुदायका विद्यालयमा विद्यालय उमेरका बालबालिका भएपनि उनीहरुको विद्यालयमा उपस्थिति नभेटिएपछि शैक्षिक सामग्री वितरण गरिएको बताए ।

शैक्षिक सामग्री नभएर बालबालिका विद्यालय नगएको अध्ययनले देखाएपछि गैंडाकोटको सहमति संस्थासँग सहकार्य गरि विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको तिवारीको भनाइ थियो । विक्रम सम्वन् २०७४ सालको चैत महिनाभित्र गैंडाकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको कारण पनि सबै बालबालिका विद्यालय जानुपर्ने तिवारीको भनाइ थियो । विद्यालय पहूँच भन्दा बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा आउने वातावरण बनाउँदै प्राथमिक शिक्षा अनिवार्य गर्नुपर्ने तिवारीले बताए ।

कार्यक्रममा सहमतिका सल्लाहकार सदस्य केशव प्रसाद सापकोटा, विपद् व्यवस्थापन समिति गैंडाकोट ६ का उपाध्यक्ष मनदेवी चापागाईँ, भूमि सुधार मञ्च नवलपरासीका सचिव लालु खनाल, कालिका उच्च माविका प्राचार्य कमल सुवेदीले लगायतले मन्तव्य राखेका थिए । सहमति गैंडाकोटका अध्यक्ष रत्नप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सहमतिको सदस्य भीम प्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.