जिल्लास्तरीय तेक्वान्दोमा २३३ खेलाडी भिड्दै

गैंडाकोट, २५ फागुन । राष्ट्रिय तेक्वान्दो संघ नेपाल अन्तर्गतको विजय सामुदायिक तेक्वान्दो डोजाङ गैंडाकोटले आयोजना गरेको चौथो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको मंगलबार उद्घाटन गरिएको छ ।

बेल्ड समूह र काँटा समूहमा गरि खेलाइने प्रतियोगितामा कुल २९ वटा समूहमा खेल हुने आयोजकले जनाएको छ । बेल्ड समूहमा १० वटा समूह र काँटा समूहमा १९ वटा गरि प्रतियोगितामा जम्मा दुई सय ३३ जना खेलाडीले सहभागिता जनाएको आयोजक कमिटीका अध्यक्ष कुसुम सुवेदीले जानकारी दिए । जिल्ला तेक्वान्दो संघ चितवनले संयोजन गरेको प्रतियोगितामा पुरुष तर्फ २४ किलो तौलदेखि ६८ किलोसम्मका खेलाडीहरुलाई प्रतिष्पर्धा गराइने बताइएको छ ।

IMG_0211त्यसैगरी, महिला तर्फ ३२ किलो तौलदेखि ४६ किलो तौल समूहमा प्रतिष्पर्धा गराइने बताइएको छ । प्रतियोगिताको विजयीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जिल्ला तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिएका छन् । यसैबीच, मंगलबार भएको उद्घाटन सत्रमा नवलपरासी जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष विकास केसीले विद्यार्थीहरुलाई पढाई सँगसँगै खेलकुदमा पनि अगाडि बढाउनुपर्ने बताए । खेलकुदका माध्यमबाट खेलाडी र राष्ट्रलाई सबैले चिन्ने भएकाले खेलाडीहरु अनुशासित हुँदै खेल प्रस्तुत गर्नुपर्ने केसीको भनाइ थियो ।

उद्घाटन सत्रमा विजय सामुदायिक उच्च माध्यमिक शिक्षा सदनका अध्यक्ष एवम् विकू बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक माधव पौडेल, विद्यालयका प्राचार्य विश्व प्रकाश न्यौपाने, पदम पौडेललगायतले मन्तव्य राखेका थिए । प्रतियोगितको जुरी (निर्णायक)मा सुजर ढकाल र विनोद श्रेष्ठ रहेका छन् ।