वन्यजन्तुको आक्रमणबाट सबैभन्दा बढी आक्रान्त माडीको अयोध्यापुरी

चितवन, २५ फागुन । चितवन निकुञ्जबाट आउने वन्यजन्तुको आक्रमणबाट सबैभन्दा बढी आक्रान्त माडीको अयोध्यापुरी भएको छ । वन्यजन्तुको आक्रमणबाट ज्यानै गुमाउने अयोध्यापुरीमा अत्याधिक रहेका छन् ।images25चितवन निकुञ्जले निकालेको १७ वर्षको तथ्याङ्कमा निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले आक्रमण गर्दा १५८ जनाको निधन भएको छ । जसमा अयोध्यापुरीका मात्रै २२ जना छन् । यो तथ्याङ्क आर्थिक वर्ष ०५५/५६ देखि ०७१/७२ सम्म अर्थात् १७ वर्षको हो । वन्यजन्तुले ज्यानै लिने उच्च पाँच गाउँमा माडीका तीन र बाहिरका दुई छन् । तथ्याङ्क हेर्दा माडी र नारायणी नदीसँग जोडिएको पश्चिम चितवनको क्षेत्र वन्यजन्तुको बढी जोखिममा रहेको देखिन्छ ।

१० भन्दा धेरै मान्छेको ज्यान गएका पाँच गाउँ यी दुई क्षेत्रका नै रहेका छन् । हाल नगरपालिका घोषणा भएको माडीका तत्कालीन चार गाविसमा १७ वर्षको अवधिमा वन्यजन्तुले आक्रमण गर्दा ५० जनाको ज्यानै गएको हो । यस अवधिमा अयोध्यापुरीमा २२ सहित माडीकै गर्दीमा १४, मेघौलीमा १२, दिव्यनगरमा ११ र फेरि माडीकै बघौडामा १० जनाको ज्यान गएको छ । माडीमै अर्को गाउँ कल्याणपुरमा वन्यजन्तुको आक्रमणमा परेर १७ वर्षमा ४ जनाको ज्यान गएको छ ।

अयोध्यापुरी, गर्दी, मेघौली, दिव्यनगर र बघौडाबाहेक अन्य गाउँमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या १० भन्दा कम छ । मेघौली र दिव्यनगरमा पश्चिम चितवनको अन्तिममा रहेका नारायणी र राप्ती नदीसँग जोडिएका इलाका हुन् । भरतपुरमा दुई र रत्ननगर क्षेत्रमा छजनाको ज्यान गएको छ । यस बाहेक एक जनाको निधन भएका गाउँहरु ८ छन् । वन्यजन्तुको आक्रमणबाट कोल्हुवा, जगतपुर, चैनपुर, शिवमन्दिर, कुमारवर्ती, मुकुन्दपुर, शारदानगर र दुम्किबास एक÷एकजनाले ज्यान गुमाएका ठाउँहरु हुन् । त्यस्तै दुईजना मात्रै ज्यान गुमाउने क्षेत्रहरुमा भरतपुरसहित पिठौली, त्रिवेणी, मंगलपुर रहेका छन् । त्यस्तै तीनको निधन हुने क्षेत्रहरु प्रगतिनगर, कुमरोज, कावासोती, मनहरी, भण्डारा, दिव्यपुरी र कठार छन् ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका गाउँहरु पर्दछन् । यी ठाउँहरुमा करिब ५० हजार घरधुरीमा लगभग पौने तीन लाख जनसंख्या बसोबास गर्छन् । वन्यजन्तुले आक्रमण गर्दा गुञ्जनगर, शुक्रनगर, कल्याणपुर, ठोरी, अग्यौली र पटिहानीमा चार चारजनाको ज्यान गएको तथ्याङ्कमा उल्लेख छ । ६ जनाको ज्यान जानेमा प्रमुख सहरी क्षेत्र रत्ननगरसहित नवलपरासीको रजहर पनि छ । त्यस्तै प्रख्यात पर्यटकीय क्षेत्र सौराहा रहेको बछौली र बरण्डाभार जैविक मार्गसँग जोडिएको गीतानगरमा १७ वर्षको अवधिमा वन्यजन्तु आक्रमणबाट आठजनाले ज्यान गुमाएका छन् । चितवन निकुञ्ज स्थापनाले दुर्लभ वन्यजन्तु एक सिंगे गैंडा, पाटे बाघ लगायतको जीवजन्तु र वनस्पति संरक्षणमा महत्वपूर्ण सफलता प्राप्त भएको छ ।

तर वन्यजन्तु आक्रमणका घटना पनि चिन्ताको विषय बन्दै आएको छ । आक्रमणबाट हुने घाइते र कृषि तथा पशु चौपायाको नोक्सानीको लामो विवरण पनि छ । चितवन निकुञ्जले वन्यजन्तुबाट हुने नोक्सानीको राहत दिने गरेको छ । मृत्यु हुनेका परिवारलाई निकुञ्जले सुरुमा २५ हजार रुपैयाँ दिने गर्दथ्यो । अहिले यो रकम बढेर पाँच लाख पुगेको छ । मृत्यु भएका परिवारलाई निकुञ्जले १७ वर्षमा एक करोड ५८ लाख १५ हजार रुपैयाँ राहत रकम दिएको चितवन निकुञ्जले निकालेको विवरणमा उल्लेख छ ।