देउवासँग छलफल गरी राष्ट्रिय सरकारका लागि पहल गर्छु : दाहाल

चितवन, फागुन २५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफू काठमाडौँ फर्किएलगत्तै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवासँग भेट गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन पहल सुरु गर्ने बताएका छन् ।prachanda
पश्चिम चितवनको नारायणी नगरपालिका–४ अमृतनगरमा निर्मित सहिद स्मारक प्रतीक्षालयको उद्घाटन गर्दै दाहालले प्रमुख दलहरु सरकारमै रहेर संविधान कार्यान्वयन र पुनः निमार्णमा जुट्नुपर्ने बताए ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहालले १६ बुँदे सहमति अनुरुप नै कांग्रेस, नेकपा एमाले, एमाओवादी सहितका दलको सहभागितामा सरकार निर्माणका लागि समितिको बैठक बसेर पहल सुरु गरिने बताए । उनले भने, ‘संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र राष्ट्रिय एकता एवम् समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ ।’
एक अर्को प्रसंगमा उनले माओवादीबीचको एकताको गृहकार्य अन्तिम चरणमा पुगेको पनि बताए ।
उनले मङ्गलपुरबाट मेघौलीसम्म जाने सडक कालोपत्रे गर्न, चितवन राष्ट्रिय निकुञ्जका जनावरबाट प्रभावित जनतालाई उचित राहत दिलाउन र नदी कटान रोक्न आवश्यक पहल गरिने आश्वासन पनि दिए ।
सोही क्षेत्रमा विसं २०४२ मा मारिएका मित्रमणि आचार्य तथा २०५९ सालमा एकै साथ मारिएका तारा काफ्ले, कमल फुयाँल, राजु अधिकारी, कालीबहादुर तामाङ र सीता विकको स्मृतिमा एमाओवादीले सो प्रतीक्षालय बनाएको हो ।
नारायणी नगरपालिकाका एमाओवादीका अध्यक्ष विजय भुजेलका अनुसार रु तीन लाख ५० हजारको लागतमा प्रतीक्षालय निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published.