देउवाले भनेः ‘कसैलाई काखा र पाखा गर्दिन’
काठमाडौं, फागुन २५ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफूले विजयलाई जितका रुपमा भन्दा जिम्मेवारीको रुपमा लिएको बताएका छन् ।
आफ्नै निवास बुढानीलकण्ठमा बधाई दिन पुगेका शुभेच्छुकहरुसँग कुरा गर्दै उनले आफ्नो काँधमा आएको जिम्मेवारी पूरा गर्न आफू सक्षम रहेको पनि बताए ।
सभापतिका प्रत्यासी रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलालगायत सबैको भूमिका र योगदानलाई आफूले सम्मान गर्ने बचन उनले दिए ।
लोकतान्त्रिक पार्टीमा प्रतिष्पर्धा हुनु स्वभाविक भन्दै उनले लगातारको मेहनतबाटै आफू सफल भएको बताए । पार्टीलाई एक ढिक्का बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै देउवाले कसैलाई काखा र पाखा नगर्ने प्रष्ट पारे ।
योग्यता र क्षमता अनुसार पार्टीमा सबैको समान भूमिका हुने भन्दै देउवाले चालीस र साठीको भागबण्डा सधैका लागि अन्त्य हुने पनि बताए ।