इन्टरनेटबाटै बस्तीको जानकारी पाइने

चितवन, २५ फागुन । चितवनको भरतपुरमा रहेको तथ्यांक कार्यालयले इन्टरनेटको माध्यमबाट नवलपरासी जिल्लाको बस्तुस्थिति जानकारी लिन सकिने गरि तथ्यांक तयार पार्दैछ । map
कार्यालयले गुगल अर्थको माध्यमबाट नवलपरासी जिल्लाको ‘कोड नेट’ (अक्षांस र देशान्तर) पत्ता लगाउने काम सुरु गरेको कार्यालय प्रमुख तथ्यांक अधिकृत जीवनाथ आचार्यले जानकारी दिए । कोड नेट पुरा भएपछि नवलपरासी जिल्लाको बस्तीहरुको अवस्थाको बारेमा गुगल अर्थको माध्यमबाट सबै जानकारी लिन सकिने आचार्यले बताए । कोड नेटको माध्यमबाट प्रत्येक वस्तीको जनसंख्या, शौचालय प्रयोग गर्ने परिवार, स्वच्छ खाने पानी, साक्षरता प्रतिशतलगायत सबै जानकारी प्राप्त गर्न सकिने आचार्यको भनाइ छ ।
कोड नेट पुरा भएपछि जिल्लाको वस्तुस्थितीको बारेमा राम्रोसँग जानकारी मिल्ने भएकाले त्यस ठाउँको विकासमा समेत टेवा पुग्ने आचार्यले बताए । ‘कोड नेट तयार पारेपछि बस्तीको बारेमा नीति निर्माता तहका व्यक्तिहरुले उक्त बस्तीको बारेमा इन्टरनेटको माध्यमबाट सबै कुराको अध्ययन गर्न पाउनेछन्’ आचार्यले भने, –‘जसका कारण जिल्लाको कुन बस्तीमा के समस्या छ त्यसको समाधान गर्न त्यसै अनुरुपको नीति बनाउन मद्दत पुग्छ ।’
तथ्यांक पुरा भएपछि बस्तीको समस्याका विषयमा कुनै पनि संघ संस्थाले जानकारी लिन सक्ने र एउटै काम दोहोरियर हुने सम्भावना कम हुने तथ्यांक कार्यालय चितवनका प्रमुख जीवनाथ आचार्यले बताए । गत पुस महिनादेखि सुरु भएको कोड नेटको काम ७५ प्रतिशत पुरा भएको बताइएको छ । चैत मसान्तसम्म कोड नेटको काम पुरा हुने आचार्यले जानकारी दिए ।
नवलपरासीको बस्तीहरुको तथ्यांक संकलनको लागि तथ्यांक कार्यालय चितवनबाट छ जना कर्मचारी परिचालन गरिएको आचार्यले बताए । बस्तीका अगुवाहरुसँग बसेर छलफल गरि कोड नेट तयार पारिने आचार्यले जानकारी दिए । राष्ट्रिय योजना अन्तर्गतको केन्द्रीय तथ्यांक विभागको मातहतमा रहेको तथ्यांक कार्यालय चितवनले नवलपरासी र चितवन जिल्लाको तथ्यांक संकलन तथा अद्यावधिक सम्बन्धी काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.