पद्मोदय भलिबलको तयारी पूरा

भरतपुर, २२ फागुन । चितवनको पटिहानीमा भोलि आइतबारबाट सुरु हुने भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।Press Meet 1 आयोजक पद्मोदय युवा क्लब भरतपुर–२७, पदमपोखरीले शनिबार अपराह्न पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रतियोगिताको आइतबार बिहान ११ बजे पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा सहभागी स्वदेशी तथा विदेशी टिमका खेलाडी तथा अफिसियलहरु शनिबार रातिसम्म पटिहानी आइपुग्ने प्रतियोगिता मूल समिति संयोजक रामहरि सेढाईंले जानकारी दिए । प्रतियोगितामा भारतको चर्चित क्लब बीएमडब्लु दिल्ली, बंगलादेशको बंगलादेश वाटर एण्ड पावर रिसोर्सेज र भुटानको साम्चे भलिबल क्लबले सहभागिता जनाउने टुंगो लागेको म्याच कमिस्नार तथा नेपाल भलिबल संघका केन्द्रीय सदस्य लेखनाथ पराजुलीले जानकारी दिए । त्यस्तै देशभित्रका नेपाल पुलिस क्लब, नेपाली आर्मी क्लब र एपीएफले प्रतियोगितामा सहभागिता जनाउनेछन् । विदेशी टिममा भरखरै भारतमा सम्पन्न साग गेम्स खेलेका भलिबल खेलाडीसमेत सामेल हुनेछन् ।
कूल ६ टिम सहभागी प्रतियोगिता आगामी फागुन २६ गतेसम्म चल्नेछ । ४ दिनको अवधिमा कूल १५ वटा म्याच खेलाइनेछन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक क्लबका प्रवक्ता विकास कार्कीले जानकारी दिए ।
प्रतियोगिता अवधिभर नेपाल भलिबल संघले सम्पूर्ण प्राविधिक सहयोग गरेको छ । म्याचमा अन्तर्राष्ट्रिय रेफ्रीहरुबाट निर्णय गराइनेछ । राष्ट्रिय भलिबल संघका सल्लाहकार विष्णुराज महतोले मोफसलमा अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम हुने गरेको भन्दै यो प्रतियोगिताले मोफसलमा भलिबल खेलको विकासमा मद्दत गर्ने बताए । त्यस्तै पटिहानी पर्यटन विकास समितिका अध्यक्ष खेम भट्टले पद्मोदय भलिबल प्रतियोगिताले पटिहानी र पर्यटनलाई पर्यायवाची बनाएको बताए ।