एउटा भाले गैंडा बर्दिया लगियो

चितवन, २० फागुन । चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा स्थानान्तरण कार्य सुरु भएको गरिएको छ । फागुन १८ गते मंगलबारदेखि सुरु गरिएको गैंडा स्थानान्तरणका क्रममा एउटा भाले गैंडालाई बर्दियाको बबई उपत्यकामा लगेर छोडिएको छ ।

मंगलबार दुई वटा पोथी र एउटा भाले गैंडालाई समातेर बर्दिया लैजाने तयारी गरिएको भएपनि एउटा भाले गैंडा मात्रा बर्दिया पठाउन सकिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले जानकारी दिए । मंगलबार दिनभरी खोजी गर्दा एउटामात्र भाले गैंडा भेटिएकाले त्यसलाई डार्ट (बेहोस) बनाएर काठको खोरमा कैद गरी बर्दिया पु¥याइएको कंडेलले जानकारी दिए । मंगलबार राति चितवनबाट कडा सुरक्षा व्यवस्थाका साथ बर्दिया लगिएको गैंडालाई बुधबार बिहान बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा छोडिएको कंडेलले बताए ।

पहिलो चरणमा पाँच वटा गैंडा लैजाने तयारी भएकाले थप गैंडाको खोजी जारी रहेको कंडेलले बताए । नेपाल सरकारको सचिव स्तरीय निर्णयबाट आगामी तीन वर्षभित्रमा चितवन राष्ट्रिय निकुञ्जबाट पाँच वटा भाले गैंडा सहित ३० वटा गैंडा बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा बन्यजन्तु आरक्षमा स्थानान्तरण गरिँदैछ । पहिलो चरणमा दुई वटा भाले सहित पाँच वटा गैंडा लगिने र बाँकी गैंडा आगामी तीन वर्षभित्रमा स्थानान्तरण गरिने निकुञ्ज प्रशासनले जनाएको छ ।

मंगलबारदेखि सुरु भएको गैंडा स्थानान्तरणको लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका ३६ वटा हात्ती परिचालन गरि गैंडाको खोजी गरिएको छ । गैंडा स्थानान्तरणका लागि ३६ जना पशु चिकित्सक, प्राविधिक, निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीको टोली सहित करिब एक सय ५० जना व्यक्तिहरु गैंडाको खोजी कार्यमा जुटेका छन् ।

गत वर्षको राष्ट्रिय गैंडा गणना २०१५ को तथ्यांक अनुसार नेपालमा छ सय ४५ वटा गैंडा भेटिएकोमा चितवन राष्ट्रिय निकुञ्जमा छ सय पाँच वटा भेटिएका थिए । चितवनबाट ३० वटा गैंडा स्थानान्तरणको लागि करिब ८५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । चितवनमा प्रकृतिसँग सम्बन्धित विभिन्न व्यक्ति तथा संघसंस्थाले गैंडा स्थानान्तरणको विरोध गरेपनि गैंडा स्थानान्तरण कार्य रोकिएन ।

एक ठाउँमा धेरै भएको गैंडालाई अर्को ठाउँमा लगेरको उसको संख्या बढाउनु अहिलेको अवश्यकता भएको हरियो वन नेपालको निर्देशक डाक्टर शान्ताराम ज्ञवालीले बताए । कुनै ठाउँमा सय वा त्यो भन्दा बढी संख्यामा गैंडा रहनु उपयुक्त हुने ज्ञवालीको भनाइ छ । पछिल्लो समय बर्दियामा सुरक्षा व्यवस्थापन मजबुद भएकोले पनि गैंडाको संरक्षण हुने ज्ञवालीले बताए । बबई उपत्यकामा गैंडाको संख्या नभएको र त्यस ठाउँमा गैंडालाई आवश्यक पर्ने हावापानी पनि भएका कारण स्थानान्तरण गर्न लागिएको ज्ञवालीले बताए ।