भारतले लगाएको सेवा करले नेपालको ढुवानी महँगो

वीरगन्ज १९ फागुन । भारतले नेपालतर्फको ढुवानीमा लिइरहेको सेवा करले ढुवानी खर्च बढेको छ । truckभारतले तेस्रो मुलुकबाट आयात हुने र आफ्नै देशबाट नेपालतर्फ निकासी हुने वस्तुको ढुवानीमा सेवा कर लिँदा कारोबार खर्च बढेको आयातकर्ताहरूले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, आपूर्ति समिति संयोजक विजयकुमार सरावगीले भारतले आन्तरिक प्रयोजनका लागि लगाएको कर नेपालको व्यापारका पनि लिनु अनुचित भएको धारणा राखे । भारतले नेपाल निकासी हुने वस्तुमा अन्तःशुल्क र मूल्य अभिवृद्धि कर छूट दिने गरेकाले ढुवानीमा समेत सेवा कर लिन नहुने उनको भनाइ छ ।
सेवा करका कारण ढुवानीको खर्च वृद्धिले कारोबार खर्च बढेको उनले बताए । ‘भारतले लिँदै आएको सेवा करले आयात कारोबार खर्चिलो भएको छ । यसबाट उत्पादन लागत र वस्तुको मूल्य बढी पर्न गएको छ,’ उनले भने । व्यवसायीका अनुसार उत्पादनको मूल्यमा ढुवानी खर्चको प्रभाव ४० प्रतिशतसम्म हुन्छ । कच्चापदार्थदेखि तयारी वस्तुको आयातमा परेको अत्याधिक खर्चका कारण लागत बढी हुने उनीहरूको गुनासो छ । स्वदेशी आयातकर्ताले तेस्रो मुलुकबाट आयातित मालवस्तु भिœयाउन पनि भारतीय मार्ग र ढुवानी साधनको उपयोग नगरी हुँदैन ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपकुमार केडिया भारतले नेपालका उपभोक्तासँग सेवा कर लिनु न्यायोचित नहुने दाबी गर्छन् । ‘भारतीय ढुवानी व्यवसायीले लिएको सेवा करको भार अन्तिममा स्वदेशी उपभोक्तामा पर्न जान्छ । सरकारले यसमा प्रभावकारी पहल गरोस्,’ उनले भने । सेवा करका नाममा मात्रै वर्षेनि अर्बौं रुपैयाँ भारतमा पुग्ने भन्दै सङ्घले समाधानको पहलका लागि सरकारको ध्यानाकर्षण पनि गराएको छ ।
स्वदेशी आयातकर्ताले ल्याएको मालसामानको ढुवानीमा भारतीय रेलवे र ट्रक व्यवसायीले १४ प्रतिशत सेवा कर असुल्दै आएका छन् । ढुवानीमा पर्ने करबाट स्वदेशी उद्योग व्यवसायमा व्ययभार थपिएको आयातकर्ता राजेश क्याल बताउँछन् । भारतले आफ्ना उत्पादनको निकासीमा कर छूट दिएजस्तै ढुवानीमा पनि सेवा कर लिन नहुने उनको तर्क छ । भारतले हालै सार्वजनिक गरेको वर्ष २०१६÷१७ को बजेटमार्फत सेवा करको दर १५ प्रतिशत पुर्‍याएको छ ।
ढुवानी व्यवसायी र अन्य सेवाप्रदायकले सेवाशुल्कमा कर जोडेर लिने गरेका छन् । रेल र सडक दुवै मार्गबाट हुने ढुवानीमा सो कर लाग्ने गरेको व्यवसायी बताउँछन् । तेस्रो मुलुकबाट आएको मालवस्तुमा कोलकाता बन्दरगाहको प्रक्रियाबाटै सेवा कर लाग्न शुरू हुने महासङ्घका केन्द्रीय सदस्य अशोककुमार टेमानीले बताए ।

‘भारतीय सेवा करले स्वदेशी उद्यम र व्यापार नराम्ररी प्रभावित भएको छ,’ उनले भने, ‘भारतले आफ्नो आन्तरिक प्रयोजनका लागि ल्याएको कर नेपालको व्यापारमा पनि लिनु कुनै पनि कारणले उचित छैन ।’
भारतले आफ्ना उत्पादनको निकासीमा कर छूट दिनु तर, सेवामा कर लगाउनु दोहोरो मापदण्ड भएको आयातकर्ताको बुझाइ छ । यता सरकारले प्रभावकारी ढङ्गले पहल नै गर्न नचाहेको संयोजक सरावगीको आरोप छ । ‘नेपाल र भारतबीच हुने अन्तरसरकारी स्तरीय बैठकमा तार्किक ढङ्गले कुरा राख्ने हो भने समस्या सुल्झिन सक्छ,’ उनले भने, ‘नेपाल–भारत व्यापार र पारवहनका समस्या एवम् समाधानका लागि यही महीना अन्तरसरकारी स्तरीय बैठक बस्दै छ ।

Leave a Reply

Your email address will not be published.