प्रेस चौतारीको राष्ट्रिय अधिवेशन सारियो

काठमाडौं ,१९ फागुन । प्रेस चौतारी नेपालको पूर्वघोषित आठौँ राष्ट्रिय अधिवेशन आगामी जेठको ६,७ र ८ गते काठमाडौंमा हुने गरी सरेको छ । यस अघि चैत ४,५, र ६ गते हुने भनिएको थियो । नयाँ संविधानअनुकूल संघीय ढाँचाको विधानको तयारीसहित संगठनका केही महत्वपूर्ण आन्तरिक कामहरु सम्पन्न गर्नुपरेका कारण अधिवेशन सारिएको जनाइएको छ ।
चौतारीको बुधबार सम्पन्न केन्द्रीय प्रचार विभागका प्रमुख तथा यस संगठनका इञ्चार्ज योगेश भट्टराई, विभागका उपप्रमुख तथा यस संगठनका सहइञ्चार्ज सूर्य थापाको उपस्थिति तथा अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत रुपमा यो निर्णय गरेको जनाइएको छ ।
पूर्वनिर्धारित मितिमा राष्ट्रिय अधिवेशन आयोजना गर्नका लागि नाकाबन्दीसँगै हाम्रो संगठनका केही जिल्ला अधिवेशन सम्पन्न गर्नमा भएका ढिलाई, केन्द्रीय कार्यालयले सम्पन्न गर्नुपर्ने केही जरुरी कामहरु विविध कारण सम्पन्न नभएपछि राष्ट्रिय अधिवेशनको मिति सारिएको हो ।
बैठकले २०–२१ चैतमा मकवानपुर सदरमुकाम हेटौँडामा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको छ । त्यस्तै, १५ चैतभित्र सम्पूर्ण जिल्लामा जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको छ ।