महिलाले सञ्चालन गरेको सामुदायिक सुचना केन्द्र प्रभावकारी बन्दै

सरिता पौडेल
चितवन, १९ फागुन । अति विपन्न समुदायका महिलाले चितवनको माडीमा सञ्चालन गरेको ‘सामुदायिक सूचना केन्द्र’ प्रभावकारी बन्दै गएको छ । सबै सेवा एकै ठाउँमा पाएपछि अहिले सूचना केन्द्रमा गाउँगाउँबाट प्रविधिको प्रयोग गर्न आउनेको भीड लाग्ने गरेको छ । केन्द्रमा अघिल्लो वर्षभन्दा ग्राहक बढेकाले आम्दानीसमेत बढ्दो छ ।
घरनजिकै सूचना केन्द्र स्थापना भएपछि स्थानीय गाउँलेले सहज भएको बताएका छन्। अन्य क्षेत्रको भन्दा सस्तो भएकाले विदेशमा रहेका आफन्तसँग हेरेरै कुरा गर्नेदेखि फोटोकपी तथा फ्याक्स पठाउनसमेत निकै सजिलो भएको स्थानीय गङ्गा भण्डारीले बताइन्। सुुचना केन्द्रमा मलेसियामा भएको श्रीमानसंग स्क्यापमा कुरा गर्दै थिइन् माडीकै सुलोचना शर्मा , उनले यहि सुचना केन्द्रका कारण आफु श्रीमानसंग दैनिक अनुहार हेरेरै गफ गर्न पाएको प्रतिक्रिया दिइन् ।
सूचना केन्द्र नहुँदा गाउँलेहरु इमेल इन्टरनेटका लागि पनि भरतपुर नै धाउनुपर्ने अवस्था थियो तर अहिले यो अवस्था टरेको छ । यहाँ प्रविधिको प्रयोगसमेत बढ्दै गएको छ । जसले सूचना केन्द्रको आम्दानीमा समेत वृद्धि भएको केन्द्रकी सञ्चालक इन्दिरा विकले बताइन् । गाउँको विपन्न महिलाले चलाएको समन्वय महिला कृषि सहकारी संस्थामार्फत सूचना केन्द्र सञ्चालित छ ।
केयर नेपालको साझेदार संस्था कालिका सामुदायिक महिला विकास केन्द्र माडीले सक्षम कार्यक्रम तेस्रो परियोजना मार्फत विपन्न महिलालाई समूहबाट सहकारीमा आबद्ध गराएको थियो। अहिले सहकारीले नमुना काम गर्दै आएको स्थानीयवासी श्रीप्रसाद दवाडीले बताए । एकातर्फ महिलाको सहकारीले विपन्न महिलालाई कृषि उद्यमी बनाएको छ भने अर्कातर्फ सूचना केन्द्र सञ्चालन गरेर स्थानीयवासीलाई सेवासँगै आयआर्जनको अवसर दिएको छ।
मुख्यगरी सो सहकारीलाई गएको वर्ष सूचना केन्द्र सञ्चालनका लागि सञ्चार मन्त्रालयबाट १० लाख ५४ हजार रुपैयाँ आएको थियो। जिविस चितवनबाट एक लाख सात हजार रुपैया, केयर नेपालको ३५ हजार तथा अन्य रकम सहकारीको गरी १३ लाखको लागतमा सूचना केन्द्र निर्माण गरिएको सहकारीकी अध्यक्ष इन्दिरा विकले बताइन्।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ९८ हजार कमाइ भएको सूचना केन्द्रमा यो आर्थिक वर्षको ६ महिनामा एक लाख ३२ हजार रुपैया आम्दानी भइसकेको छ। यहाँ फोन, फ्याक्स, फोटोकपी, लेमिनेसनसँगै भिडियो कल, स्क्यानिङलगायतका सेवा सुहलियत दरमा उपलब्ध छ।

Leave a Reply

Your email address will not be published.