‘आयल निगमको समन्वय अभावले कालोबजारी बढ्यो’– प्रशासन

नवलपरासी,१९ फागुन । परासी क्षेत्रमा रहेका पेट्रोल पम्पहरुले इन्धनमा कालोबजारी गरेको पाइएको छ ।d21f1a45-3c22-4db1-9128-04c1eb2277c0

कालोबजारी भएको बारे जिल्ला प्रशासन कार्यालयले स्विकार गरेपनि अनुगमनमा भने चासो दिएको छैन । जसले गर्दा सर्वसाधारणले इन्धनको अभाव खेप्ने कार्य दिनप्रतिदिन बढेको छ ।
नेपाल आयल निगमको भैरहवा डिपोले परासी क्षेत्रमा पेट्रोल र डिजल गरी हरेक दिन ९० हजार लिटर इन्धन पठाउने गरेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिनुभयो । तर पम्पले भने ५, ७ सय लिटर इन्धन बाँडेपछि सर्वसाधारणलाई छैन भनेर फर्काउने गरेको उहाँले बताउनुभयो ।

पन्थका अनुसार दाउन्नेपश्चिम रहेको परासी क्षेत्रमा २८ वटा पेट्रोल पम्प छन् । ‘हरेक दिन एउटा पम्पलाई ३ देखि ५ हजार लिटरसम्म नेपाल आयल निगमले इन्धन पठाउने गरेको छ तर व्यवसायीले तेल छैन भनेर पठाउने गरेको उहाँको भनाई छ । हरेक दिन आउने उक्त परिमाणको तेल परासी क्षेत्रलाई प्रयाप्त पुग्ने प्रशासनले जनाएको छ ।
प्रजिअ पन्थका अनुसार विगतमा चरम अभावहुँदा प्रशासनको समन्वयमा आयल निगमले तेल पठाउने गरेपनि १५ दिन अघिदेखि व्यवसायीहरुले सोझै ल्याउने गरेका कारण कालोबजारी बढेको हो । त्यसरी उपलव्ध गराउने तेलका बारेमा आयल निगमले पनि प्रशासनलाई जानकारी दिने गरेको छैन ।
‘पहिला अत्यावश्यक भएकालाई प्रशासनको कुपनमार्फत् तेल उपलव्ध गराईन्थ्यो अहिले भने प्रशासनले नभई आफ्नै पहलमा तेल आएको भन्दै व्यवसायीहरुले कार्यालयलाईसमेत अटेर गर्ने गरेको प्रजिअ पन्थले बताउनुभयो ।

तेल आएका पम्पमा अत्यावश्यक पर्ने सवारीसाधनलाई उपलव्ध गराउन कुपन दिएर पठाउने गरेपनि व्यवसायीहरुले फर्काउने गरेको प्रशासनले जनाएको छ ।
नेपाल आयल निगमले ५ सय लिटर ‘इर्मजेन्सी’का लागी भन्दै कोटा छुट्टाउने गरेको छ । त्यो पनि दिने उपलव्ध नभएको प्रशासनले जनाएको । व्यवसायीहरुले प्रतिलिटर १५ देखि २० रुपैयाँबढी लिएर उद्योग र विभिन्न आयोजना सञ्चालन गरेका निर्माण व्यवसायीहरुलाई इन्धन बिक्रि गर्ने गरेका छन् ।

कालोबजारी गर्ने पम्पहरुको अनुगमन गरि कारबाही गर्न नाप तौल विभाग र नेपाल आयल निगमलाई कर्मचारी पठाउन पत्रचार गरेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.