जनताका उजुरी र गुनासा सुन्दै प्रधानमन्त्री कार्यालयका कर्मचारी नवलपरासी

हरि शर्मा
परासी,१९ फागुन । सरकारी कार्यालयबाट सम्पादन हुने अधिकांश कामका बारेमा सेवाग्रहीहरु अनविज्ञ हुने गरेको पाइएको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट नवलपरासीमा खटिएको जिल्ला अनुगमन टोलीले जनाएको छ ।Nawalparasi map
सेवाग्रहीहरुको उजुरी र गुनासा बारे जानकारी लिन बुधवार सदरमुकाम परासीमा पुगेको अनुगमन टोलीले कार्य सम्पादन बारे सरकारी कार्यालयहरुले बडा पत्रमार्फत् जानकारी दिने गरेपनि त्यसबारे सेवाग्रहीहरुले चासो नराख्ने गरेको पाइएको जनाएको हो ।

जसका कारण सेवा प्रदानमा पनि समस्या भएको कर्मचारीहरुले गुनासो गरेको टोलीले जनाएको हो ।
अनुगमन टोलीका प्रमुख एवम् मन्त्री परिषद्को कार्यालयका शाखा अधिकृत रामचन्द्र कोईरालाका अनुसार सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’ मा नवलपरासीबाट परेका उजुरी र गुनासाका बारेमा जानकारी लिई कारबाही प्रकृया अघि बढाउन टोली जिल्लाका विभिन्न सरकारी कार्यालयमा पुगेको हो ।

तीन दिनसम्म रहेर जिल्लाका विभिन्न कार्यालयमा पुग्ने टोलीले सेवाग्रहीहरुलाई प्रत्यक्ष भेटेर पनि सरकारी कामका बारेमा गुनासा र सुझाव संकलन गरिरहेको छ ।
सरकारी कार्यालयसहित विभिन्न संघसंस्थाहरुले गरेको काम कारबाही सम्बन्धि असन्तुष्टि जनाउँदै नवलपरासीबाट ०७१ साउनदेखि हालसम्म १ सय ६ वटा उजुरीहरु परेका छन् ।

जसमा केही उजुरीहरु फछ्यौट नभएकाले त्यसबारे पनि जानकारी लिइएको टोली प्रमुख कोईरालाले बताउनुभयो ।

त्यसरी जिल्लाबाट परेका उजुरीमा विकास निर्माणमा अनियमितता, शिक्षक नियुक्तीमा अनियमितता, घरेलु कार्यालयबाट उद्योग दर्ता नगरेका, रासायनिक मल उपलव्ध नगराएको, उखुका मूल्य भुक्तानी नपाएकाजस्ता उजुरीहरु रहेका छन् । चार जना सम्मिलित टोलील जिविस, शिक्षा, मालपोत, नगरपालिका, प्रशासनलगायतका कार्यालयमा अनुगमन गरेको छ ।

Leave a Reply

Your email address will not be published.