महाधिवेशनको मूल एजेन्डा के ? पौडेल, देउवा, सिंह र सिटौलाले यसो भने

काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले नयाँ संविधानको कार्यान्वयन नै १३औं महाधिवेशनको मूल एजेन्डा हुने बताएका छन् ।

विहीबारदेखि सुरु हुने महाधिवेशनबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले कांग्रेस नेतृत्वमा बनेको संविधानको कार्यान्वयन नै मूल एजेन्डा हुने स्पस्ट पारेका हुन् ।

पत्रकार सम्मेलनमा कांग्रेस कार्यबहाक सभापति रामचन्द्र पौडेलले मुलुकका हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै संविधान कार्यान्वयन, पार्टीको सुदृढीकरण र देशको समृद्धि अबको कार्यदिशा हुने बताए ।

मधेसमा देखिएको समस्या समाधनमा पनि पार्टीले ध्यान दिने उनको भनाइ थियो ।

सो अवसरमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले सीमांकन परिवर्तन गरेर भएपनि समस्या समाधान गर्न सकिने बताए ।

कांग्रेसले लोकतन्त्रका आधारभूत मान्यताहरुसँग कसैसँग पनि सम्झौता नगर्ने उनको भनाइ थियो ।

यस्तै, महामन्त्री प्रकाशमान सिंहले महाधिवेशनबाट जो नेतृत्वमा आएपनि पार्टी एकताबद्ध भएर जानुपर्नेमा जोड दिए ।

अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले सात दशकसम्म प्रतीक्षाको विषय बनेको संविधान कांग्रेसकै नेतृत्वमा बनेको र अब त्यसको कार्यान्वयन पनि कांग्रेसले नै गर्ने बताए ।

नेपाली कांग्रेसले १३औं महाधिवेशनका लागि ‘सुशीलको नेतृत्वमा ल्यायौं संविधान, सम्बृद्ध राष्ट्र निर्माण हाम्रो अभियान’ भन्ने नारा तय गरेको छ ।

पत्रकार सम्मेलनमा प्रचार समितिका संयोजक डा. मीनेन्द्र रिजालले विहीबार १ बजे हुने उद्घाटन समारोहमा सहभागी हुन सर्वसाधारणहरुलाईसमेत आमन्त्रण गरे ।