चितवनको गैडा बर्दियामा छाडियो

 

चितवन, १९ फागुन । चितवन राष्ट्रिय निकुञ्जबाट करिब १२ घण्टा ट्रकमा बोकेर लगिएको भाले गैंडा आज बिहान बर्दिया निकुञ्जको बबई उपत्यकास्थित चेपाङमा छाडिएको छ ।rhino

वनमन्त्री अग्निप्रसाद सापकोटाको उपस्थितिमा ट्रकमा राखिएको काठे खोर खोलेर १२ वर्षिय भाले गैंडालाई बिहान ११ बजे प्राकृतिक वासस्थानमा छाडिएको हो । हिजो बेलुकी ५ बजे चितवन निकुञ्जको सुखीभारक्षेत्रको घाँसे मैदानमा डार्ट गरि ट्रकमा लोड गरिएपछि बेलुकी सवा नौ बजे बर्दियाका लागि हिँडाईएको थियो ।
बबईमा १३ वर्षको अन्तरालपछि फेरि गैंडा लगेर छाडिएकामा स्थानीय र मध्यवर्ती क्षेत्रका बासिन्दा हर्षित् छन् । उनीहरुले विगतमा छाडिएका गैंडा शून्यमा झरे पनि अब आफूहरु बचाउन तत्पर र सक्षम भएको बताएका छन् ।

मन्त्री सापकोटाले समेत बबईमा गैंडा छाडिनु सुखद खबर भन्दै यीनको संरक्षणमा स्थानीय बासिन्दाको सहयोग भए अब विगतको जस्तो समस्या नदोहोरिने प्रतिबद्धता जनाउनुभयो ।
बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले अब जसरी पनि बबईमा गैंडा बचाएरै छाड्ने बताउनुभयो । चितवन निकुञ्जको सुखिभारबाट यसै साता अन्य एक भाले र तीन पोथी पनि बबई लगेर छाडिने निकुञ्ज विभागका महानिर्देशक फणीन्द्रराज खरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.