नामावली अद्यावधिक गर्न घुम्ती टोली

 

भरतपुर, १९ फागुन । जिल्ला निर्वाचन कार्यालय चितवनले फोटो सहितको मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको छ । 520c6695-543e-41c0-8213-e90e38944e52जिल्ला प्रशासन कार्यालयमा डेस्क स्थापना गरेर फोटो सहितको नामावलीमा नाम दर्ता गर्दै आएको कार्यालयले आगामी चैत १ गतेदेखि घुम्ती टोली परिचालन गर्ने जनाएको छ ।

चैतको १ गतेदेखि चितवनका सबै नगरपालिकाका वडा र गाविसको कार्यालयबाट फोटो सहितको मतदाता नामावली अद्यावधिक गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए ।

मतदाता नामावली अद्यावधिक गर्नको लागि फागुन १८ गते मंगलबार सहायक नाम दर्ता अधिकारीलाई तालिम दिइने ढकालले जानकारी दिए ।

त्यस्तै १९ गते निर्वाचन शिक्षा कार्यकर्तालाई तालिम तथा अभिमुखिकरण गर्ने र यसै हप्ताभित्र चितवनका नागरिक समाजसँग मतदाता नामावली अद्यावधिकका विषयमा अन्तरक्रिया गर्ने तयारी भएको समेत ढकालले बताए ।

फोटो सहितको मतदाता नामावली अद्यावधिकको लागि प्रत्येक समूहमा पाँच जना कर्मचारी खटाउने तयारी भएको छ । एक दिनमा पाँच वटा समूहले मतदाता अद्यावधिक गर्ने समेत ढकालले बताए ।

भरतपुर उपमहानगरपालिकाको १ देखि १४ नम्बर वडा जिल्ला निर्वाचन कार्यालयको नजिकै भएकाले उक्त वडाहरुमा अद्यावधिक गर्ने काम नगरिने ढकालले बताए ।

चितवनमा गत असार मसान्तसम्म दुई लाख ९५ हजार नौ सय ६१ जना मतदाताले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमध्ये एक लाख ४२ हजार आठ सय २४ महिला र एक लाख ५३ हजार एक सय ३६ जना पुरुष तथा एक जना तेस्रो लिंगीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

त्यसैगरी, चितवनको नगरपालिकाहरुमा दुई लाख ७६ हजार दुई सय १३ जना र गाविसहरुमा १९ हजार सात सय ४८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनको तथ्यांकमा उल्लेख गरिएको छ ।

चितवनमा एउटा उपमहानगरपालिका सहित आठ वटा नगरपालिका र आठ वटा गाविसहरु रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म चितवनमा दुई हजार आठ जना मतदाता थपिएका छन् । जसमध्ये आठ सय ७२ महिला र एक हजार एक सय ३६ पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published.