विरोधका बावजुद चितवनका गैंडा बर्दिया लगिदै

चितवन, १८ फागुन । स्थानीय र सरोकारवाला निकायको बिरोधका बावजुद आज चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा स्थानान्तरण गरिँदै छ । चितवन राष्ट्रिय निकुञ्जबाट आज दुईवटा गैंडा बर्दिया लैजान लागिएको हो । rhino
फागुन २२ गते भने तीनवटा गैंडा चितवनबाट बर्दिया लगिने छ । यसरी लगिने मध्ये दुई भाले र तीन पोथी वयस्क गैंडा गरी पाँच वटा रहने छन् । उता, स्थानीय र सरोकारवाला निकायहरुले भने गैंडा स्थानान्तरण रोक्न आज पनि निकुञ्ज मुख्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
हालसम्म चितवनबाट बर्दियामा ७० भन्दा बढी गैंडा स्थानान्तरण गरिसके पनि बर्दियामा २० वटा मात्र गैंडा बाँचेपछि बर्दियामा गैंडालाई उपयुक्त हावापानी नमिल्ने र गैंडासमेत सुरक्षित नहुने भन्दै बिरोध भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु विशेषज्ञ डाक्टर कमल गैरेको नेतृत्वमा १ सय २० जनाको प्राविधिक टोली गैंडा स्थानान्तरणमा खटिँदै छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने सुकेभार क्षेत्रबाट गैंडा स्थानान्तरण गर्न लागिएको हो ।