मानवीय प्रदुषणले जल प्रदुषण बढ्यो

आनन्द पोखरेल
चितवन, १२ फागुन । पछिल्लो समय बढ्दै गएको सहरीकरणका कारण मानवीय फोहोर बढ्दै गएको छ । मानवीय कारणले निस्किएका फोहोर मैलाहरुको उचित व्यवस्थापन हुन नसक्दा वातावरणीय समस्या समेत देखिने गरेको छ ।
मानवीय फोहोरलाई राम्रोसँग व्यवस्थित गर्न नसक्दा नदी नालाहरु प्रत्यक्ष रुपमा प्रभावित हुँदै आएका छन् । मानवीय सभ्यताको विकास समेत नदी–नाला तथा खोलाको छेउछाउबाट भएको देखिन्छ । मानिसहरुको विभिन्न क्रियाकलापका कारण नै दिनप्रतिदिन नदी तथा ताल तलैया प्रदुषीत बन्दै गएको छ । नदी प्रदुषणका कारण नेपालका विभिन्न नदी नालाहरुमा समेत विस्तारै असर पर्दै गएको छ । जल प्रदुषणका कारण चलचर प्राणीहरुमा प्रत्यक्ष रुपमा असर पर्दा यसले प्राकृतिक पारिस्थीतिक पद्धतीलाई समेत असर पु¥याउने विज्ञहरु बताउँछन् ।
निरन्तर बगिरहने नदी नालाहरुमा विश्वमा नै धनी मुलुकको रुपमा नेपाल चिनिने गरेको छ । यहाँ बाह्रै महिना पानी बग्ने हजारौँ खोला–नाला तथा ठूला नदीहरु समेत बग्ने गर्दछन् । नारायणी, कोसी, कर्णाली, महाकाली लगायतका नदीहरु नेपालका मुख्य नदीहरु हुन् । नदी छेउमा बसोबास गर्ने व्यक्ति तथा उद्योग स्थापनाले नदी प्रदुषण बढ्दै गएको छ ।
खोला तथा नदी किनारमा मानवीय बस्ती बाक्लो हुने भएका कारण यस क्षेत्रबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापन हुन नसक्नु नै जल प्रदुषणको मुख्य कारण हो । अव्यवस्थित सहरीकरणका कारण बजार क्षेत्रबाट निस्कने फोहोरलाई प्रशोधन नगरी सिधै पानीका स्रोतहरुमा मिसाउँदा यसले जल प्रदुषण निम्त्याउँछ । चितवनमा रहेको नारायणी नदी समेत पछिल्लो समय प्रदुषणको शिकार बन्दै गएको छ ।
नदी किनारमा स्थापना भएका उद्योगहरुबाट निस्किएका फोहोरहरुलाई प्रशोधन नगरि नारायणीको किनारमा मिसाउँदा यहाँ रहेका जलचरहरुमा प्रत्यक्ष रुपमा असर परेको छ । चितवनको ठिमुरामा रहेको दूध कारखाना, नवलपरासीको गैंडाकोटमा रहेको भृकुटी कागज कारखाना र नवलपरासीकै मुकुन्द पुरमा रहेको गोर्खा ब्रुअरीबाट निस्कने फोहोरलाई प्रशोधन विना नै नारायणी नदीमा मिसाइने गरेको छ ।
त्यसैगरी, भरतपुर उपमहानगरपालिका भित्रबाट निस्कने फोहोरलाई पनि ढल मार्फत सिधै नदीमा मिसाइदा जल प्रदुषण बढ्न गएको छ । पछिल्लो समय भृकुटी कागज कारखाना बन्द अवस्थामा भएपनि नदी किनारमा अन्य उद्योगहरु स्थापना हुने क्रमले समेत जल प्रदुषण बढाउँदै वातावरणीय चुनौती थप्दै आएको छ ।
नारायणी नदीमा माछा मारेर जीविका चलाउँदै आएका नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नम्बर ३ ब्रम्हस्थानका डम्बर बहादुर बोटेले पछिल्लो समय नदीमा माछाको संख्या घट्दै गएको बताउँछन् । उमेरले ६३ वर्ष नाघेका उनी आजभन्दा ३० वर्ष अगाडि नारायणीमा ठूला ठूला माछा पाइने गरेकोमा अहिले माछा मारेर दैनिकी चलाउन समेत धौ धौ हुने गरेको गुनासो गर्छन् ।
जल प्रदुषणका कारण नारायणी नदीमा रहेका माछाहरुको आकारमा समेत परिवर्तन आएको अनुसन्धानकर्ताहरु बताउँछन् । पछिल्लो समय नदीमा गोंच, डल्फिन जस्ता माछाहरु देखिन छोडेको उनीहरुको भनाइ छ । नदी प्रदुषणले माछाहरुको अस्तित्व संकटमा पर्दा माछामा आश्रित अन्य जलचर प्राणी समेत लोप हुन सक्ने विज्ञहरु बताउँछन् । नदीनाला माछाको लागि अत्यन्त आवश्यक भएको जस्तै गरी नदीनालाको लागि पनि माछा आवश्यक भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ डाक्टर दिनेश भुजू बताउँछन् ।
नेपालको नारायणी नदीमा प्रदुषणका कारण परेको प्रभावका बारेमा सन् १९८० देखि अनुसन्धान गर्दै आएका इम्पोरिय स्टेट यूनिभर्सिटी अमेरिकाका प्रोफेसर डेभिड आर एड्सले पानी प्रदुषण भएकै कारण माछाको वंशाणुमा समेत परिवर्तन आएको बताउँछन् । नारायणी नदीको विभिन्न १२ ठाउँमा अध्ययन गर्दै आएको डेभिडले जल प्रदुषणका कारण र जथाभावी करेन्ट लगाएर माछा मार्दा नदीमा पहिलेको तुलनामा अहिले माछाको जनसंख्या घटेको बताए ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले जलप्रदुषण हुँदा अप्रत्यक्ष रुपमा जलचर प्राणीलाई असर पर्ने जानकारी दिए । करिब १५ वर्ष अगाडिदेखि संरक्षणमा काम गर्दै आएका खड्काले प्रदुषणकै कारण नदीमा माछाको संख्या घटेपछि गोहीको संख्या समेत बढ्न नसकेको बताए ।
मानवीय फोहोरलाई नियन्त्रण गर्न सकेको अवस्थामा नदी स्वतः स्वच्छ र सफा हुने नेपाल सरकार वन विभागकका पूर्व महानिर्देशक गोकुलराज पाण्डेले बताए । विभिन्न ठाउँमा स्थापना गरिएको उद्योग कलकारखानाबाट निस्कने फोहोरलाई नदीमा मिसाउँदा प्रशोधन गरेर मात्र मिसाउन सकेमा पनि नदी प्रदुषण नहुने पाण्डेको भनाइ छ । बढेको सहरीकरणसँगै शौचालयबाट निस्कने दिशा पिशाबलाई नदीमा मिसाउने प्रकृया बढेकोले यसलाई नियन्त्रण गर्न सकेमा नदी प्रदुषण हुनबाट जोगिने र जलचर प्राणीलाई समेत नकारात्मक असर नपर्ने पाण्डेले बताए ।
मानवीय कारणले भएको जल प्रदुषण रोक्न हामी सबै लाग्नु पर्छ । आजैका दिनदेखि हामीले जल प्रदुषण रोक्नका लागि ठोस कदम चालेनौँ भने पृथ्वीबाट डायनासोर लोप भएजस्तै गरी जलचर प्राणी समेत लोप नहोलान् भन्न सकिदैन । जल प्रदुषण रोक्दै पर्यावरण बिग्रनबाट जोगाउनु हामी सबैको दायित्व हो ।

Leave a Reply

Your email address will not be published.