नाकाबन्दी खुलेपनि चितवनमा इन्धनको अभाव झनै बढ्यो

 

चितवन, ११ फागुन । भारतले नेपाल विरुद्ध अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दी खुलेपनि चितवनमा इन्धनको अभाव झनै बढेको छ ।d21f1a45-3c22-4db1-9128-04c1eb2277c0 नाकाबन्दी खुलेपछि माडी–ठोरी हुँदै चितवन भिœयाइने इन्धनमा रोक लगाएपछि चितवनमा इन्धनको अभाव देखिएको हो । नाकाबन्दीको बेलामा बैकल्पिक बाटो अपनाउँदै चितवनमा इन्धन भिœयाइएको थियो ।

अघोषित रुपमा गरिएको नाकाबन्दी गत माघ २२ गते अघोषित रुपमै खुलेको थियो । नाकाबन्दी खुलेपछि इन्धन लगायत अन्य अत्यावश्यक पदार्थको आपूर्तिमा सहज हुने विश्वास लिइएको भएपनि अहिले त्यो अनुभूति गर्न पाइएको छैन । चितवनमा सामान्य अवस्थामा दैनिक रुपमा एक लाख ५० हजार लिटर डिजल र ५० हजार लिटर पेट्रोल खपत हुने गरेको थियो ।

अवस्था ‘सहज’ नभएको भन्दै अहिले सामान्य अवस्थाको भन्दा ३० प्रतिशत इन्धन मात्र चितवनमा उपलब्ध गराइएको छ । चितवनमा उपलब्ध भएको पेट्रोलियम पदार्थलाई सबै नागरिकले पाउने गरि वितरण गरिएको यहाँका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए । माडी–ठोरी नाकाबाट आयात भइरहेको इन्धनलाई केन्द्रको आदेश अनुसार बन्द गरिएको सिंहले जानकारी दिए ।

नाकाबन्दीको अवस्थामा इन्धन आपूर्ति सहज गराउने उद्देश्यले वैकल्पिक नाकाबाट इन्धन आयात गर्न दिइएको भएपनि त्यो वैधानिक बाटो नभएको सिंहले बताए । ‘हामीले नेपाल आयल निगमसँग पनि पेट्रोलियम पदार्थको बारेमा कुरा गरेका छौँ, माग अनुसारको पेट्रोलियम पदार्थ पठाउन आग्रह गरेका छौँ’ सिंहले भने, –‘अबको एक हप्ता भित्रमा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन्छ ।’ नेपालमा भित्रिएको पेट्रोलियम पदार्थ काठमाडौँमा मात्र केन्द्रीत गरिएको कारण चितवनमा असहजता भएको सिंहको भनाइ छ ।

वैकल्पिक बाटो अपनाएर नेपालमा आउने पेट्रोलियम पदार्थले सरकारलाई कर नतिर्ने भएकाले त्यसरी आउने इन्धनलाई रोकिएको सिंहको भनाइ छ । उपभोक्ताहरुले तेल पाउँदा पाउँदै पनि अनावश्यक रुपमा प्रशासनमा तेलको कुपन लिन आएका सिंहले बताए ।

इन्धन भर्नका लागि लाइनमा बसेको सबैले इन्धन पाएको भएपनि प्रशासनमा कुपन लिन जाने व्यक्तिको प्रवृत्ति बनेको सिंहको भनाइ छ । ‘लाइनमा बस्ने कार मोटरसाइकल सबैले इन्धन पाएका छन्’ सिंहले भने, –‘कुपन लिन प्रशासनमा निवेदन दिन आउने सबै व्यक्तिलाई हामीले कुपन दिएका छैनौँ ।’ अत्यावश्यक सेवाको लागि इन्धन अभाव नभएको समेत सिंहले प्रष्ट पारे ।