दादुरा रुवेला विरुद्धको खोप अभियान सुरु

चितवन, ९ फागुन । चितवनको भरतपुर उपमहानगरपालिका र रत्ननगर नगरपालिकामा दादुरा रुबेला विरुद्धको खोप अभियान आइतबारदेखि सुरु भएको छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत भरतपुर उपमहानगरपालिकाको वडा नम्बर १, २ र ३ मा तथा रत्ननगरको पञ्चकन्याको तीन वटा केन्द्रमा दादुरा रुवेला विरुद्धको खोप अभियान सञ्चलान गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका खोप अधिकृत दिवाकर महर्जनले बताए ।
पहिलो चरण अन्तर्गत सोमबार भरतपुरको १०, ११ र १२ नम्बर वडामा दादुरा रुवेला विरुद्धको खोप सञ्चालन गरिने महर्जनले जानकारी दिए । खोप अभियान अन्तर्गत चितवन जिल्लामा तीन चरणमा खोप सञ्चालन गरिनेछ । पहिलो चरण अन्तर्गत भरतपुर उपमहानगरपालिका र रत्ननगर नगरपालिकाका सबै वडामा दादुरा रुवेला विरुद्धको खोप कार्यक्रम सकिने महर्जनले बताए । नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइएको छ ।
त्यसैगरी, अभियान अन्तर्गत अनिवार्य रुपमा पाँच वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई पोलियो थोपा समेत खुवाइँदैछ । बालबालिका बिरामी भएको बेला, कडा खालको औषधि खाएको बेला तथा पहिले खोप लगाउँदा एलर्जी भएका बालबालिका बाहेक सबैलाई अनिवार्य रुपमा खोप लगाउन समेत महर्जनले आग्रह गरे । अहिले खोप नलगाइएको बालबालिकालाई केही समयभित्र लगाउन पर्ने समेत महर्जनले बताए । चितवनमा दोस्रो चरणको खोप अभियान फागुन २२ देखि २९ गतेसम्म सञ्चालन हुँदैछ । दोस्रो चरणमा भरतपुर र रत्ननगर बाहेकका नगरपालिका र गाविसमा खोप अभियान सञ्चलान गरिने बताइएको छ ।
त्यसैगरी, चैत ७ गतेदेखि १३ गतेसम्म तेस्रो चरणको खोप अभियान सञ्चालन गर्ने तयारी भएको छ । पहिलो र दोस्रो चरणमा दादुरा रुवेला विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई तेस्रो चरणको अभियभानले समेट्ने समेत खोप अधिकृत महर्जनले जानकारी दिए ।
गएको माघ २४ गतेदेखि सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमका ३३ जिल्लामा सुरु गरेको दोस्रो चरणको खोप अभियान पनि अन्तिम चरणमा पुगेको छ । अबको तीन वर्ष अर्थात सन् २०१९ सम्ममा दादुरा निवारण गर्ने र रुबेला नियन्त्रण गर्ने उदेश्यले सरकारले विभिन्न चरणमा खोप अभियान चलाइरहेको बाल स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख गौतमले बताएका छन् ।