नारायणीमा सुशीलको अस्तु विसर्जन

चितवन, ९ फागुन। नेपाली कांग्रेसका स्वर्गीय सभापति सुशील कोइरालाको अस्तु नारायणी नदीमा विसर्जन गरिएको छ । चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठसहितका नेता-कार्यकर्ताहरुले सामूहिक रुपमा अस्तु विर्सजन गरेका हुन् ।

jio
कोइरालाको १३ औं दिनको पुण्यतिथीमा कांग्रेसले आइतबार पचहत्तरै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । कांग्रेस केन्द्रीय नेताहरु अस्तुसहित जिल्ला-जिल्लामा पुगेका छन् ।
चितवनमा कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी अस्तु लिएर आएका थिए । कांग्रेसको चारतारे झण्डा, स्वर्गीय सभापति कोइरालाको तस्बिरसहित र अस्तुसहित कांग्रेस नेता-कार्यकर्ताहरु नारायणी नदी किनारमा पुगेका थिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य जोशी, जिल्ला सभापति श्रेष्ठ, निवर्तमान जिल्ला सभापति टेकप्रसाद गुरुङ, सांसद रामकृष्ण घिमिरलेलगायतको सहभागीता थियो ।
कोइराला संविधानसभाको दोश्रो निर्बाचनमा चितवन क्षेत्रनम्बर चार र बाँके क्षेत्रनम्बर तीनबाट समेत निर्वाचित भएका थिए । तर, पछि उनले गृहजिल्ला बाँके रोजेका थिए ।