१९५० को सन्धिको पुनरावलोकन गर्न प्रधानमन्त्रीले उठाएका कालापानी र सुस्ताको कुरामा भारत सहमत

 

काठमाडौँ, ९ फागुन । नेपाल र भारतको द्विपक्षीय वार्तामा प्रधानमन्त्री केपी ओलीले १९५० को सन्धि पुनरावलोकनको कुरा उठाएपछि भारतीय पक्षले ठोस प्रस्ताव ल्याउन आग्रह गरेको छ ।

द्विपक्षीय उच्चस्तरीय वार्तामा सन्धिको पुनरावलोकन गर्न आफूहरु तयार रहेको भन्दै भारतीय पक्षले त्यसका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरेको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिए । यस विषयलाई दुई देशबीचको नवगठित प्रबुद्ध व्यक्तिहरुको बीचमा लैजाने विषयमा छलफल भएको छ ।

‘भारतीय प्रधानमन्त्री मोदीले यसमा सकारात्मक प्रतिक्रिया दिएका थिए ।’ रिमालले भने, ‘वार्तामा प्रधानमन्त्रीले कालापानी र सुस्तामा नेपाली भूमी अतिक्रमण भएको प्रसङ्ग उठाए ।’ भारतले विभिन्न स्थानमा बनाएका बाँधले उत्पन्न गरेका समस्या र भारतले नेपालका ७ हजार मेगावाट जलविद्युत परियोजनाहरु होल्ड गरेको विषयमा पनि प्रधानमन्त्री ओलीले भारतको ध्यानाकर्षण गराएका थिए ।

‘प्रधानमन्त्री ओलीले उठाएका विषयमा भारतीय प्रधानमन्त्री मोदीले गम्भीर रुपमा लिएका छन् ।’ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले भने । प्रधानमन्त्री ओलीले नेपालको संविधानको बारेमा ‘क्लियर’ गर्ने बताए पनि त्यस विषयमा भारतीय पक्षबाट कुरा नउठेको रिमालको भनाइ छ ।

प्रधानमन्त्रीओलीले शनिबार गरेका भेटवार्ताहरु फलदायी भएको र भ्रमण सफलोन्मुख रहेको निष्कर्ष निकालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।