पद्मोदय युवा क्लबले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता गर्ने

सौराहा अनलाईन
चितवन, ०८ फागुन । पद्मोदय युवा क्लब पटिहानीले अन्तराष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गरेको छ । प्रत्येक वर्ष शिवरात्रीमा आयोजना हुँदै आएको भलिबल प्रतियोगितालाई यस वर्षदेखि अन्तराष्ट्रिय स्तरको बनाइएको हो ।12717520_474934692702162_8799024210791089177_n

स्थानीय स्तरबाट भलिबल खेलाउन सुरु गरेको क्लबले गत वर्ष राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गरेको थियो । यस वर्ष फागुन २३ गतेदेखि २६ गतेसम्म साविकको पटिहानी गाविसको वडा नम्बर ३ मा भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा भारत, बंगलादेश, भुटान सहित नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सहभागी हुने क्लबका अध्यक्ष रामहरि सेढाईले बताएका छन् ।

उक्त प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले एक लाख रुपैयाँ र तेस्रो हुनेले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि करिब २६ लाख रुपैयाँ खर्च हुने आयोजकले बताएको छ ।

पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न गर्नको लागि क्लबका अध्यक्ष रामहरि सेढाईको अध्यक्षतामा पाँच सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिताको तयारी तीव्र पारिएको जनाइएको छ ।

प्रतियोगितामा भाग लिन आउने सबै खेलाडीलाई खाने, बस्ने र आउने जाने यातायत खर्चको व्यवस्था क्लबले नै गर्ने जनाइएको छ । प्रतियोगिताको समयमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता समेत गरिने आयोजकले जानकारी दिएको छ ।