पृथ्वीनारायणले साझा फूलबारी त भने, तर सबैलाई समान मलजल गरेनन् : भट्टराई

 

चितवन, ७ फागुन । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले अढाई सय वर्षअघि नै पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरेपनि राष्ट्रिय एकीकरण गर्न नसक्दा विभिन्न जातजाति र भाषाभाषीबीच विभेद् कायम रहेको बताएका छन् ।

चितवनको भरतपुरस्थित बीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा शुक्रबार आयोजित कुमाल समाज सुधार समितिको छैटौं साधरणसभालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भट्टराईले भने, ‘त्यतिबेला नै पृथ्वीनारायण शाहले नेपाललाई साझा फूलबारी त भने, तर समान मलजल गरेनन्, सोहीकारण सबैले समान अधिकार पाउन सकेनन् ।’

वर्तमान संविधानमा केही त्रुटी भएपनि यसले पूरानो सामन्ती एकात्मक सत्ता भत्काएको भन्दै उनले यही संविधानमा टेकेर त्रुटी सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन् ।

संघीय लोकतान्त्रिक संविधान बनेको उल्लेख गर्दै भट्टराईले यो संविधान कार्यान्वयन भएर संघीय राज्य बन्दा विभिन्न जातजातिको बाहुल्य रहेको क्षेत्रमा स्वायत्त क्षेत्र घोषणा गरेर उनीहरुलाई विशेष अधिकार दिनुपर्ने उल्लेख गरे ।

पूराना पार्टीहरुले राष्ट्रिय एकता गर्न नसक्ने भन्दै भट्टराईले त्यसैको लागि नयाँ शक्ति आवश्यक परेको बताए । नयाँ शक्ति राष्ट्रिय एकतालाई मजबुद् बनाउँदै आर्थिक समृद्धिमा केन्द्रित हुने उनको भनाइ छ ।