माछाको पकेट क्षेत्र बन्दै माडी

चितवन, ०७ फागुन । माडी कृषि उत्पादनका लागि उपयुक्त क्षेत्र हो । माडीमा पछिल्लो समय माछापालन व्यवसाय फष्टाउँदै गइरहेको छ । माडी–७ गोपालनगरका नवप्रसाद घिमिरे पहिलो पटक व्यवसायीक माछापालन सुरु गर्ने व्यक्तिका रुपमा परिचित छन् । भारत घुम्दा माछापालनको अवस्था नियालेका घिमिरेले धान उत्पादन नहुने क्षेत्रमा माछा पोखरी खने । माछापाल्न लागेको देखेर धेैले उनलाई लगानी डुब्ला भनेर सम्झाए । ‘धान नफल्ने खेतमा माछा फल्न थाल्यो, आफै दंग परें’, उनले भने, ‘माछापालन सम्भव छ भन्ने देखियो, अरुले पनि सिको गर्न थाले ।’
५ कट्टठा क्षेत्रफलमा माछा पालेका घिमिरे हाल ७४ वर्ष पुगेका छन् । उनका दुई छोरा हरिप्रसाद, शिवप्रसादले साढे तीन विगाहा क्षेत्रफलमा माछा पाल्दै आइरहेका छन् । नवप्रसादले ०४१ सालमा माडीमा माछापालन व्यवसाय सुरु गरेका हुन् । धान भन्दा माछाबाट हुने आम्दानी बढी हुन लाग्यो । विस्तारै माछाका भुरा उत्पादन समेत गर्न थाले । कृषि कार्यालयले त्यो बेला गोपालनगरलाई माछाको गाउँ भनेर चिनाउन थाल्यो । चितवनमा माछापालन व्यवसाय गर्ने ज्यादै कम थिए ।

अहिले माडी माछाको पकेट क्षेत्रका रुपमा परिचित छ । माडीमा हाल ४ सय १४ जना माछा व्यवसायी छन् । माडीमा २ सय ७९ विगाहा क्षेत्रफलमा माछापालन भैरहेको छ । गोपालनगर, गौरिनगर, हरिनगर, शिवद्धार, कृष्णनगर, बगई, चम्फाबार, सिमारा पकेट क्षेत्रका रुपमा परिचित छन् । ०४५ सालबाट माडी गोपालनगरमै माछापालन सुरुगरेका जयेश्वर भट्टराईले उत्पादीत माछा आफ्नै भरतपुरको माडी माछा पसलमा बिक्रि गर्दछन् । ३ विगाहा क्षेत्रफलमा माछापालन गरेका भट्टराईले वार्षिक ७ लाख आम्दानी गर्छन् । उनको ९ वटा पोखरी छ ।

‘जंगली जनावरबाट पनि सुरक्षित हुने, आम्दानी पनि राम्रो हुने भएरै माछापालन गरेको हुँ’, उनले भने, ‘माडीमा माछापालक किसानहरुलाई थप तालिम आवश्यक छ, जसले उत्पादनमा वृद्धि गर्नसहज होस ।’ उनको पसलमा दैनिक ५० केजी माछा खपत हुदै आइरहेको छ । माडी अयोध्यापुरीका जीतबहादुर गुरुङले माछापालन गर्न सुरुगरेको ४ वर्षभयो । १२ कट्टठा क्षेत्रफलमा उनले पोखरी बनाएका छन् । ‘बजार खोज्न अलि कठिन छ’, उनले भने, ‘सहज यातायातको पहुँच नहुदा माछा बजारसम्म पु¥याउन अपठ्यारो हुने गरेको छ ।’

०६५ सालबाट माछापालन सुरुगरेका माडी हरिनगरका दिनेश बहादुर अधिकारीले ५ विगाहा क्षेत्रफलमा माछा उत्पादन गर्छन् । उनले वार्षिक ३० क्विन्टल बढी माछा उत्पादन गर्ने गरेका छन् । ‘माछा उत्पादनका लागि आवश्यक भुरा ल्याउन कठिन छ’, उनले भने, ‘माडीमै सरकारी तवरबाट भुरा उत्पादन गर्ने केन्द्रहरु विस्तार गरिनुपर्छ ।’ माडी गोपालनगरका दिलिपकुमार थापा पनि साढे २ विगाहा क्षेत्रफलमा माछापालन गर्दै आइरहेका छन् ।
‘माछाको पकेट क्षेत्रका रुपमा माडी परिचित छ’, उनले भने, ‘किसानलाई नयाँ प्रविधि, कम लागतमा बढी उत्पादन गर्नसक्ने बारेका प्रशिक्षणहरुको आवश्यकता छ ।’ माडीका स्थानीय अगुवा ओमनाथ पाण्डे माडीको कृषि उत्पादन वृद्धिका लागि सरकारको ध्यानाकर्षण गर्ने बताउँछन् ।
‘चिस्यान सहितको माछा संकलन केन्द्रहरु मात्र बनाउन सकिए माछापालक किसानहरुको संख्या बढ्छ’, उनले भने, ‘वास्तविक किसानलाई राहत तथा सम्मान गर्ने नीति ल्याउन दवाव दिनेछौ ।’ भरतपुरमा जिउँदो माछा बेच्दै आएका चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङ मासिक ८ क्विन्टल बढी माछा माडीबाटै ल्याउने गर्छन् ।

‘माछाको आकार राम्रो भएकाले सहज रुपमा बिक्रि हुन्छ’, उनले भने, ‘स्वदेशी उत्पादनको खपत जिल्लामा बढ्दै गएको छ ।’ नेपाल मत्स्य व्यवसायीसंघ चितवनका अध्यक्ष जोगेन्द्र महतोले पोखरी व्यवस्थापन, माछा बजारको व्यवस्था, अनुदानमा वृद्धि गर्नुपने आवश्यता रहेको बताए । ‘गुणस्तरहीन सस्तो माछा नेपाल भित्रने क्रमलाई रोक्नुपर्छ’, उनले भने, ‘स्वदेशी उत्पादनलाई बजारको पहुँचमा पु¥याउन संघ लागिपरेको छ ।’

५ वर्ष यता माछापालनमा उल्लेख्य वृद्धि भएको छ । चितवनमा करिब ४१ करोडको माछा कारोबार हुने गरेको अनुमान छ । चितवनमा गत वर्ष १ हजार ९ सय २५ मेट्रिकटन माछा उत्पादन भएको थियो । अभियानमुखी माछापालन कार्यक्रमले माछापालनको क्षेत्र विस्तार गर्न सघाएको छ । २०६६ सालयता करिब ४ सय हेक्टर क्षेत्रफलमा माछापालन बढेको छ ।

Leave a Reply

Your email address will not be published.