देश अग्रगतिमा जान नसक्नु दुःखद् : पूर्वराजा

काठमाडौं, फागुन ७ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा उत्पन्न विग्रहको अवस्थाले आफूलाई चिन्तित बनाएको बताएका छन् ।
६६औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले राष्ट्र, राष्ट्रियता र गतिशीलताका लागि आफूले बाटो छाडिदिँदा पनि देश अग्रगतिमा जान नसक्नु दुःखद् भएको बताएका छन् ।
सन्देशमा पूर्व राजाले देशमा अहिले पनि गतिहीनता, संवेदनहीनता अनेकतामा विग्रह देखिएको भन्दै आफू राष्ट्रको समुन्नतिको आकांक्षाबाट पृथक नरहेको बताएका छन् । नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयाँ विधि एवं प्रक्रिया नेपाल र नेपालीको हित तथा अग्रगतिका निम्ति साधकसिद्ध हुन नसक्नु दुखद भएको पनि उनले सन्देशमा उल्लेख गरेका छन् ।
पूर्व राजाले राष्ट्रको भूबनोट, सामाजिक स्वरुप, धर्म, संस्कृति र परम्परालाई स्पर्श गर्दै सही दिशातर्फ लाग्न पनि सबैलाई आग्रह गरेका छन् ।