६६ औं प्रजातन्त्र दिवस मनाइँदै

चितवन, ०७ फागुन । आज फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी देशभर ६६औं प्रजातन्त्र दिवस मनाईंदै छ ।
२००७ साल फागुन ७ गतेकै दिन १०४ वर्ष लामो जहाँनियाँ राणा शासन अन्त्य भई मुलुकमा प्रजातन्त्र वहालीको घोषणा भएको थियो । प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा आज काठमाडौंको टुंडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम गरिँदै छ ।
पहिलो पटक नेपाली धर्तीमा क्रान्तिको बिगूल फुकेर तात्कालीन योद्धाहरुले यो देशलाई जहानियाँ राणा शासनबाट मुक्त गराएका थिए । यसक्रममा १९९७ सालमा चार जना नेपाली सपुतलाई तत्कालीन राणा शासकहरुले मृत्युदण्ड दिएका थिए ।